खेल

साउथीको अलराउन्ड प्रदर्शन

क्राइस्टचर्च – टिम साउथीको अलराउन्ड प्रदर्शनप्रेरित न्युजिल्यान्ड खराब प्रदर्शनका बावजुद बुधबार पाहुना टोली श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन समालिएको छ। साउथीले अर्धशतकीय पारी खेल्दै तीन विकेटसमेत लिएपछि खराब ब्याटिङको सामना गरेको न्युजिल्यान्ड समालिएको हो।

एक समय ६८ रन बनाउँदा ६ विकेट गुमाइसकेको न्युजिल्यान्डको इनिङमा तीव्र गतिका बलर साउथीले ६८ रन बनाउँदै घरेलु टोलीको इनिङ उकासेका थिए। खराब स्थितिमा पनि आक्रामक ब्याटिङ गर्दै साउथीले ६५ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए।

उनले सातौं विकेटका लागि ब्राड्ली वाट्लिङसँग १ सय ८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।  नवौं विकेटका रूपमा आउट भएका वाट्लिङले ४६ रन बनाएपछि न्युजिल्यान्डले १ सय ७८ रनको झीनो स्कोर खडा गरेको थियो। वाट्लिङको इनिङमा चार चौका समावेश छ। रोस टेलरले २७ रन बनाउँदा अन्य ब्याट्सम्यान भने सस्तैमा आउट  भएका थिए।

श्रीलंकाली बलरले निकै उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई ठूलो स्कोर बनाउन दिएनन्।  सुरंगा लकमल एक्लैले पाँच विकेट लिँदा शीर्ष चार ब्याट्सम्यानलाई सस्तैमा पवेलियनको बाटो देखाएका थिए। लाहिरु कुमाराले पनि थप तीन विकेट लिँदा दिलरुवान परेराले एक विकेट निकाले।

तर, जबाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पनि निकै खराब ब्याटिङ ग-यो। पहिलो दिनको समाप्तिमा श्रीलंकाले चार विकेट गुमाउँदा ८८ रन मात्र बनाएको छ। उसका शीर्ष तीन ब्याट्सम्यानले दोहोरो अंकमै रन बटुल्न सकेनन्। ओपनरद्वय धनुष्का गुनथिलका ८ र दिमुथ करुनारत्ने ७ रनमा आउट भए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान दिनेश चण्डीमल पनि ६ रनमै पवेलियन फर्किंदा कुशल मेन्डिस १५ रनमा आउट भएपछि श्रीलंकाको इनिङ ध्वस्त भएको थियो। चौथो विकेटका लागि रोसेन सिल्भा १५  र एन्जेलो म्याथ्युज २७ रनमा नटआउट छन्।

साउथीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। उनले ११ ओभरमा तीन मेडन राख्दै २९ रन मात्र खर्चिए। कोलिन डी ग्रान्डहोमले एक विकेट निकाल्न सफल भए।

प्रकाशित: १२ पुस २०७५ ०४:०९ बिहीबार

टिम_साउथी न्युजिल्यान्ड अलराउन्ड_प्रदर्शन