खेल

ब्रिगेड ब्वाइजको पोष्टमा हिमालयन शेर्पाको ४ गोल

विपक्षी खेलाडीको प्रहार रोक्दै हिमालयन शेर्पाका गोलकिपर किशोर गिरी (पहेंलो) । तस्बिर सौजन्य : एन्फा

काठमाडौं – दुई खेल बाँकी रहँदा अंक गुमाउने स्थानमा रहेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि ४–१ को फराकिलो जित निकाल्दै हिमालयन शेर्पा राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचाैं स्थानमा उक्लिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न दिनको पहिलो खेलमा हिमालयनलाई जिताउन विश्वास श्रेष्ठले दुई तथा विदेशी खेलाडी गोहा प्याट्रिक तथा विसन गुरुङले एक–एक गोल गरे।

लिगको शीर्ष ६ भित्र अटाउने उद्देश्यमा रहेको हिमालयन खेलको सुरुदेखि नै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको बिबिसीविरुद्ध हाबी बनको थियो। आक्रामक सुरुआत गरे पनि हिमालयनले पहिलो हाफमा बिबिसीको बलियो रक्षापंक्तिलाई चिर्न सकेन। ११औं मिनेटमा कर्ण लिम्बुको प्रहार ब्रिगेड ब्वाइजका डिफेन्डरले बचाउ गर्दा हिमालयन शेर्पाले सुरुआती अग्रता लिने अवसर गुमाएको थियो। लगत्तै काउन्टर एट्याक गरेको बिबिसीले अग्रता लिने मौका बुने पनि अब्दुलको प्रहार पोस्टनजिकैबाट बाहिरिएपछि पहिलो हाफ गोलरहित बनेको हो।

फरक आक्रामक रणनीतिका साथ मैदान उत्रिएको हिमालयनले दोस्रो हाफमा चार गोल गर्यो। पहिलो मिनेटमै विदेशी खेलाडी प्याट्रिकले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए। पेनाल्टी बक्सअगाडि पाएको पासलाई प्याट्रिकले आकर्षक शैलीमा गोल गर्दै अग्रता दिलाए। ५४औं मिनेटमा विसन गुरुङले हिमालयनका लागि दोस्रो गोल गर्दै खेल २–० मा पुर्याए। पहिलो हाफमा भन्दा दोस्रो हाफमा खराब प्रदर्शन गरेको बिबिसी हिमालयन शेर्पाविरुद्ध निरीह बन्यो। विश्वास श्रेष्ठले ६१औं मिनेटमा टोलीका लागि तेस्रो गोल गर्दै अग्रता तेब्बर पारे।

अपराजित रहेको मनाङले आज बिहीबार संकटामाथि जित निकाले दुई खेलअगावै मनाङ मर्स्याङ्दीको उपाधि पक्का हुनेछ।

एकपछि अर्को गोल गर्दै अग्रता बनाएको हिमालयनबाट खेल सकिन १० मिनेट बाँकी रहँदा विश्वासले नै चौथो गोल गरे। फराकिलो अन्तरले पछि परेको बिबिसीले गोल फर्काउन खेलको अन्तिमतिर काउन्टर प्रयास गर्यो। सो प्रयास सफल हुँदा खेल सकिन तीन मिनेट बाँकी समयमा वर्तमान राईले बिबिसीका लागि गोल गरे। बाँकी समयमा टोलीले थप गोल गर्न सकेन र फराकिलो अन्तरमा पराजित हुन पुग्यो।

११औं चरणको खेलसम्म आइपुग्दा एक खेलमा मात्र सुखद नतिजा निकालेको बिबिसीले सातौं खेलमा पराजय भोगेको छ। ६ अंक जोड्दै अंक घटुवाबाट बच्न संघर्षरत बिबिसी तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। लिगअन्तर्गत बुधबारै सम्पन्न दिनको दोस्रो खेलमा नवौं स्थानको जावलाखेल युथ क्लबले १२औं स्थानको मच्छिन्द्र क्लबमाथि २–१ को जित निकालेको छ। लिगमा तेस्रो जित निकालेको जावलाखेलले तालिकामा दुई स्थान सुधार गरेको छ।

तालिकामा सम्मानजनक स्थान बनाउनका लागि जित्नै पर्ने दबाबमा रहेका दुवै टोली पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। खेलमा जावलाखेलले पहिलो हाफमा केही राम्रा अवसर पाएको थियो। तर उपयोग गर्न नसक्दा अग्रता लिन असफल भयो। फरक र आक्रामक रणनीति बुनेको जावलाखेलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन ग¥यो। मच्छिन्द्रका रक्षकले ५५औं  मिनेटमा पेनाल्टी बक्सभित्रको बललाई क्लियर गर्ने क्रममा ह्यान्ड भएपछि पाएको पेनाल्टीमा गोल गर्दै जावलाखेलले अग्रता बनायो। अरुज सिंहले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए। त्यसको दश मिनेटपछि विदेशी खेलाडी फोडे फोफानाले जावलाखेलका लागि दोस्रो गोल गरे। अग्रता बनाएपछि रक्षात्मक खेलेको जावलाखेलविरुद्ध अन्तिम मिनेटमा मच्छिन्द्रका लागि अल्बा एडिमोलाले सान्त्वना गोल फर्काए।

लिगमा तेस्रो जित निकालेको जावलाखेलले तालिकामा ११ खेलबाट ११ अंक बटुलेको छ भने पराजित मच्छिन्द्र समान खेलबाट ६ अंकका साथ अंक घट्ने स्थानभन्दा एक स्थान माथि छ। जावलाखेल गोलअन्तरका आधारमा एक स्थान माथि १२औं स्थानमा छ।

बुधबारै सम्पन्न दिनको अर्को खेलमा ११औं स्थानको फ्रेन्ड्स तालिकाको पुछारमा रहेको न्युरोड टिम (एनआरटी) सँग १–१ गोलको बराबरीमा रोकिएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा ४३औं मिनेटमा लिएको अग्रतालाई अन्तिम १२ मिनेट जोगाउन नसक्दा एनआरटी अंक बाँड्न पुगेको हो। अंक घटुवाबाट बच्न संघर्षरत एनआरटीका लागि सुशील लामाले गोल गर्दै पहिलो हाफमा टोलीलाई अग्रता दिलाएका थिए।

रक्षात्मक बन्दै काउन्टर गर्ने रणनीति अपनाएको एनआरटीको अग्रतालाई ७८औं मिनेटमा फ्रेन्ड्सका असीम भुसालले बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोलीले जितको खोजी गरे पनि थप गोल गर्न सकेनन् र अंक बाँडे। लिगमा दोस्रो बराबरी खेलेको एनआरटीको ११ खेलबाट ५ अंक भएको छ भने समान खेलबाट फ्रेन्ड्सको ९ अंक छ।

लिगमा बिहीबार विभागीय टोली एपिएफ र च्यासल युथ क्लबबीच दिनको पहिलो खेल हुनेछ भने दोस्रो खेलमा शीर्ष टोलीद्वय मनाङ मर्स्याङ्दी र संकटा युथबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र संकटाबीचको खेलले उपाधि छिनोफानो लाग्न पनि सक्छ। अपराजित रहेको मनाङले संकटामाथि जित निकाले दुई खेलअगावै मनाङ मर्स्याङ्दीको उपाधि पक्का हुनेछ। यदि मनाङको पक्षमा नतिजा नआए बाँकी खेलमा मात्र उपाधि छिनोफानो हुनेछ।

प्रकाशित: ११ पुस २०७५ ०९:३४ बुधबार

हिमालयन_शेर्पा ‘ए’_डिभिजन_लिग पाँचौं_स्थान