खेल

खेल सामग्रीले महिला खेलाडी दंग

सर्लाही - विगत २ वर्षदेखि बागमती युवा क्लबमा आबद्ध भई फुटबल प्रशिक्षणरत १७ वर्षीया अनु राई सोमबार दंग थिइन्। त्यस्तै सोही क्लबकी सुस्मिता थिङ पनि फुरुंग थिइन्।

राई र थिङ मात्र हैन क्लबमा आबद्ध भई फुटबल खेल्दै आएका ३८ जना किशोरी हर्षित थिए। २ सहयोगी संस्थाले आवश्यक पर्ने खेल सामग्री प्रदान गरेकाले दैनिक प्रशिक्षणमा संलग्न एवं विभिन्न फुटबल प्रतियोगितामा  सहभागिता जनाउँदै आएका महिला खेलाडी खुसी भए।

सोमबार बिहान एक समारोहबीच उनीहरूलाई फुटबल, जर्सी, पन्जा, ट्य्राक सुटलगायत खेलसामग्री प्रदान गरिएको छ। महिला खेलाडीलाई भारतको प्रसिद्ध निबिया कम्पनीले ६ थान फुटबल, पन्जा र जर्सी सहयोग प्रदान गरेको हो। त्यस्तै मदरल्यान्ड नेपालले ३८  खेलाडीलाई एक–एक जोर ट्य्राक सुटसमेत सहयोग गरेको छ।

बागमती नगरपालिकाका खेलकुद विभाग संयोजक एवं वडा अध्यक्ष दीपक लामाको अध्यक्षतामा आयोजित एक समारोहमा प्रमुख अतिथि नगरपालिकाका उपमेयर लिलाकुमारी मोक्तान एवं विशिष्ट अतिथि मदरल्यान्डकी जनकपुर संयोजक सुशीला थापाले महिला खेलाडीलाई खेल सामग्री प्रदान गरे। खेल सामग्री प्राप्त हुँदा निकै उत्साह थपिएको अनु राईले बताइन्।

प्रकाशित: १० पुस २०७५ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App