खेल

आर्मीलाई राष्ट्रिय पुरुष लिग भलिबल उपाधि

तस्बिरः उमेश पुन/नागरिक

पोखरा – सशस्त्र प्रहरीको एपिएफ क्लबसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदैै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।

डिफेन्डिङ च्याम्पियन आर्मीले पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको सेन्टर कोर्टमा शनिबार एपिएफलाई  ३–२ सेटले पराजित गर्दै इतिहास दोहोर्यायो। निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले एपिएफसँग उपाधि खोस्न पाँचै सेटसम्म खेल्नुपर्यो। लिगचरणमा एपिएफले पाँचै सेट खेल्दै आर्मीलाई पराजित गरेको थियो।

१८–२५, २५–१९, २५–१८, १८–२५ र टाइब्रेक सेटमा १७–१५ को नतिजाका साथ आर्मीले उपाधि उचाल्दै सशस्त्रलाई उपविजेतामै चित्त बुझाउन बाध्य बनायो। पहिलो सेट सशस्त्रले पाँच अंकको अग्रतालाई जोगाउँदै सहज रूपमा आफ्नो पक्षमा पारेको थियो। पाँच अंक सशस्त्रले आर्मीको स्पाइकलाई ब्लक गर्दै जोड्यो। सशस्त्रका लिबरोले उत्कृष्ट डिफेन्स गरेका थिए।

दोस्रो सेट भने आर्मीले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट पनि आर्मीले आफ्नो बनाएपछि सशस्त्रले केही दबाब महसुस गरेको थियो। तर चौथो सेटमा सशस्त्रले  कब्जा जनाएपछि खेल रोमाञ्चक स्थितिमा पुग्यो। एकपछि अर्को समान अंकसँगै १५–१५ को स्थितिमा पुगेपछि सशस्त्रले सेट अंक गुमाउन पुग्यो। आर्मीले सर्भिस प्वाइन्टमा अंक जोडेपछि १७–१५ ले सशस्त्र उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भने नेपाल पुलिस क्लबले मणिमुकुन्द क्लब रूपन्देहीलाई पराजित गर्यो। पुलिसले मणिमुकुन्दलाई २५–१४, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गर्यो। विजेता आर्मीले नगद २ लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेतामा चित्त बुझाएको सशस्त्रले १ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले भने नगद ५० हजार रुपैयाँमा चित्त बुझाए।

समापन समारोहमा नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले फुटबलमा गरिने लगानीको २५ प्रतिशत मात्रै भलिबलमा गरे त्यसको प्रतिफल छिटो पाइने स्पष्ट पारे। उनले खेलाडीले जतिसुकै राष्ट्रिय प्रतियोगिता खेले पनि अन्तर्राष्ट्रिय एरिनामा एक्सपोज नहुँदासम्म स्तरीयता नआउने ठोकुवा गरे।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले खर्च हुन नसकेको केही बजेट पोखरा रंगशालाको भौतिक पूर्वाधारमा खर्च गर्ने बताए। उनले पोखरालाई स्पोटर्स हब सिटीका रूपमा विकास गर्नुपर्ने भन्दै अहिले दुई सत्ता खेलकुदमा हाबी भएको दाबी गरे। ‘खेलकुदमा दुई सत्ता छन्,’ उनले भने, ‘झोलामा बोकेर हिँड्ने संघले खेलकुदको विकास हुँदैन, त्यस्तालाई कारबाही गरिनेछ।’

एक सातासम्म सञ्चालित प्रतियोगितामा बेस्ट स्पाइकरमा आर्मीका मानबहादुर श्रेष्ठ, लिबरोमा आर्मीकै ईश्वर आले, लिफ्टर (सेटर) मा नेपाल पुलिसका कप्तान ईम राना, सर्भरमा आर्मीका कुलबहादुर थापा, ब्लकरमा एपिएफका विजय थापा र उत्कृष्ट प्रशिक्षक नेपाली सेनाका प्रवीनकिशोर श्रेष्ठ घोषित भए।

प्रतियोगितामा उत्कृष्ट खेलाडी भने त्रिभुवन आर्मीका धनबहादुर भट्ट घोषित भए। उनले २५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र पाए। बेस्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स र सर्भरले जनही नगद ५ हजार रुपियाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, संघका महासचिव जितेन्द्र चन्द, सचिव डिबी नेपाली, प्रतियोगिताका संयोजक राजुकमार गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए।

त्रिभुवन_आर्मी_क्लब आरबिबी_एनभिए_राष्ट्रिय_लिग_भलिबल उपाधि_रक्षा