खेल

न्यु डाइमन्ड भलिबल पुस अन्तिममा

काठमाडौं – दोस्रो संस्करणको न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ। बिहीबार आयोजक न्यु डायमन्ड एकेडेमीले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स ट्रेनिङ सेन्टरको मैदानमा हुने प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ। खेलाडीहरूको क्षमता मापन गर्दै नयाँ प्रतिभाहरूको खोजीका निम्ति प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक कुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिए।

‘प्रतियोगितामा सहभागिता जनाउन आउने टोलीको राहतका लागि भनेर यसपालिदेखि पुरस्कार राशि पनि वृद्धि गरेका छौं,’ प्रतियोगिता संयोजक राईले भने, ‘हाम्रो उद्देश्य भनेको नयाँ महिला खेलाडीलाई भलिबलमा स्थापित गर्नु हो। उनीहरूको हौसलाका लागि प्रतियोगिताले सहयोग पुर्याउनेछ।’

प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता अपेक्षा गरिएको र उपत्यकाबाहिरका टोलीको खान बस्ने खर्च आयोजकले बेहोर्ने बताएको छ। प्रतियोगिताको सहभागिताका लागि सहभागी हुने सम्भावित सबै टोलीलाई पत्र पठाएको आयोजकले जनाएको छ। हालसम्म चार टोलीले सहभागिताका लागि निधो दिइसकेका छन्। जसमा आयोजक न्यु डायमन्ड एकेडेमी, विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी र पोखराको टप्सको सहभागिता पक्का भएको छ।

२३ लाख अनुमानित खर्च लाग्ने प्रतियोगिताको दोस्रो संस्करणको विजेताले ३ लाख एक हजार रुपैयाँ, उपविजेताले २ लाख १ हजार रुपैयाँ हात पार्दा तेस्रो हुने टोलीले १ लाख १ हजार तथा चौथो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। लिग कम नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार हात पार्नेछ। यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ हात पार्नेछन्।
प्रतियोगिता आयोजना गर्न लागि सोही कार्यक्रममा नेपाल भलिबल संघले भलिबल प्रदान गर्यो।

प्रकाशित: ६ पुस २०७५ ०१:१४ शुक्रबार

न्यु_डाइमन्ड भलिबल पुस