खेल

गणेशमान सिंह स्मृति किक बक्सिङ सुरु, कान्ति र शुभन क्वार्टरफाइनलमा

ललितपुर - नेपाल आर्मीका कान्ति लामा र सशस्त्र प्रहरी बलका शुभन नेपाली बिहीबारदेखि सुरु भएको दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा चापागाउँमा भएको  पहिलो दिनको प्रतियोगितामा बिहीबार पुरुष ५५ केजी तौलसमूहमा कान्ति र शुभनले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन्।

सोही तौलसमूहमा सतुंगलका मनोज सुनुवार, काभ्रेका सुवास लिम्बू, एपिएफका तीर्थराज थापा, सितोरियोका जेनिस राई, आयोजकका कपिल रोक्का र आर्मीका महेश भुजेल पनि आआफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै अन्तिम आठमा पुगेका छन्।

त्यस्तै महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बुले पनि क्वार्टरफाइनल यात्रा तय गरे। प्रतियोगिताको पुरुषमा १० तथा महिलामा २ गरी १२ स्पर्धामा १ सय ४८ खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए। प्रत्येक तौलसमूहमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५–५ हजार नगद पुरस्कार पाउनेछन्।

टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार सय ५ नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट पुरुष–महिला खेलाडीलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने प्रतियोगिता शनिबार सम्पन्न हुनेछ। यसअघि बिहीबार नै नेपाली कांग्रेसका उप–सभापति विजयकुमार गच्छादारले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रकाशित: ५ पुस २०७५ १३:४८ बिहीबार

गणेशमान_सिंह बक्सिङ