खेल

आर्मीसँग थ्री स्टारको बराबरी, उपाधिमा धक्का

थ्री स्टारविरुद्ध बल नियन्त्रणको प्रयास गर्दै आर्मीका जर्ज प्रिन्स कार्की (हरियो) । साथमा थ्री स्टारका नीराजन खड्का (नीलो) । तस्बिर सौजन्य : एन्फा

काठमाडौं – अन्तिम २० मिनेट लिएको अग्रतालाई कायम गर्न नसक्दा उपाधि होडमा रहेको थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको दोस्रो खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। जितको खोजीमा मैदान उत्रिएका दुवै टोलीका  प्रयास पहिलो हाफसम्म निरर्थक बने। विपक्षीलाई दबाबमा राख्दै सुनौला अवसर सिर्जना गरे पनि पहिलो हाफमा थ्री स्टार गोल गर्न चुकेको थियो। १६औं मिनेटमा थ्री स्टारले आर्मीको पोस्टमा गरेको पहिलो प्रहार बारनजिकैबाट बाहिरिएको थियो।

दुई मिनेटपछि नै सन्तोष तामाङले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको सशक्त बल अकासिँदा थ्री स्टारले चुकचुकाउनुपर्यो। ३३औं मिनेटमा थ्री स्टारका मिडफिल्डर मिक्छेन तामाङको फ्रिकिक आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै  विफल पारे। यता, ३८ आैं मिनेटमा आर्मीका कप्तान नवयुग श्रेष्ठको पासमा सन्तोष तामाङले दोस्रो बार च्याप्दै हानेको बल पोस्टनजिकैबाट बाहिरिएको थियो। यसअघि कप्तानी सम्हाल्दै आएका भरत खवास दोहोरो पहेंलो कार्डका कारण थ्री स्टारविरुद्वको खेलमा अनुपस्थित थिए।

दोस्रो हाफमा दुवै टोली स्पष्ट जितका लागि आक्रामक देखिए। ९ खेलसम्मको यात्रामा दुवै टोलीले एक–एक खेलमा पराजय भोगेका छन्। दुवै टोली स्पष्ट जित निकाल्दै उपाधिहोडलाई मजबुत बनाउने उद्देश्यका दोस्रो हाफमा मैदान उत्रिए पनि सफल हुन सकेनन्। यद्यपि काउन्टर गरेको थ्री स्टारले ७०औं मिनेटमा नीराजन खड्काको गोलबाट अग्रता लिन सफल भयो।  विदेशी खेलाडी पिटर सेगुनले उपलब्ध गराएको बलमा अजयी मार्टिनले हेडमार्फत दिएको पासलाई नीराजनले जाली चुमाएका थिए। ८७औं मिनेटमा थ्री स्टारका अनिल गुरुङले किपर बिट भएको अवस्थामा प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो।

निर्धारित ९० मिनेटसम्म एक गोलले पछि परेको आर्मीका लागि जर्ज प्रिन्स कार्कीले थप गरिएको समयमा फ्रिकिकमार्फत गोल गर्दै अंक खोस्न सफल भए। ६३औं मिनेटमा टेक बहादुर बुढाथोकीको स्थानमा मैदान प्रवेश गरेका जर्ज प्रिन्स कार्कीको उक्त गोलले नै आर्मीलाई हारबाट जोगाएको हो।

जारी लिगमा अंक बाँडेका थ्री स्टार र आर्मी शीर्ष स्थानमा रहेको मनाङ–मर्स्याङ्दी क्लबभन्दा क्रमशः ५ र ९ अंकले पछाडि छन्। बुधबार लिगको नवौं खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेलेपछि शीर्ष स्थानको मनाङसँगको दूरी बढेको हो। बराबरी खेलेपछि उपाधि दाबेदारीको दौडमा लम्किएको मनाङलाई सहज भएको छ भने पछ्याइरहेको संकटलाई पनि फाइदा पुगेको छ। संकटा थ्री स्टारभन्दा दुई अंकले अगाडि छ। संकटाको नौ खेलबाट २२ अंक छ। शीर्ष स्थानको मनाङको २७ अंक छ। चिरपरिचित प्रतिद्वन्द्वी थ्री स्टारसँग अंक खोसेको आर्मीको समान ९ खेलबाट १८ अंक भएको छ। आर्मी तालिकाको चौथो स्थानमा छ।

प्रकाशित: ५ पुस २०७५ ०४:२६ बिहीबार

सहिद_स्मारक_‘ए’_डिभिजन_लिग थ्री_स्टार त्रिभुवन_आर्मी बराबरी