खेल

ललितपुर एभरेष्ट प्रिमियर लिगको फाइनलमा, काठमाडौं १ विकेटले पराजित

काठमाडौं – रोमाञ्चक खेलमा काठमाडौं किङ्स इलाभेनलाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रियट्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। काठमाडौंले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ। निकै रोमाञ्चक बनेको खेलमा काठमाडौंले जितका लागि दिएको १ सय ९ रनको लक्ष्य ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो। ललितपुरको जितमा योगेन्द्रसिंह कार्की नायक बने। कार्कीले २९ बलमा १ चौंकाको मद्दतमा नटआउट २८ रन बनाएपछि ललितपुरले अन्तिम बलमा जित हात पारेको हो।

अन्तिम ओभरमा ललितपुरलाई जितका लागि ८ रन चाहिएकोमा योगेन्द्रले अन्तिम ४ बलमा २–२ रन जोडेपछि ललितपुरले खेल जितेको हो। ललितपुरका लागि कुशल भुर्तेलले सर्वाधिक २९ रनको योगदान दिए। उनले २७ बलमा २ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा २१ र पवन सर्राफले २१ बलमा १९ रन जोडे। बलिङतर्फ काठमाडौंका प्रदिप साहुले ३, केभिन ओब्राइन र रोहन मुस्तफाले २–२ तथा सम्साद शेखले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.५ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो। काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रनको योगदान दिए। २० बलको सामना गरेका मुस्तफाले ३ चौंका र २ चौंका प्रहार गरे। यस्तै सागर पुनले ३० बलमा १ चौंका र १ छक्काको सहायतामा २९ र सिद्धान्त लोहनीले २४ बलमा १६ रन जोडे। काठमाडौंका ८ जना खेलाडीले दोहोरो रन जोड्न सकेनन्। काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले ३–३, सन्नी पटेलले २ तथा ललितनारायण राजवंशीले १ विकेट लिए।

प्रकाशित: ३ पुस २०७५ १०:४२ मंगलबार

एभरेष्ट_प्रिमियर_लिग ललितपुर_प्याट्रियट्स फाइनल