खेल

च्याम्पियन्स लिग ड्र : लिभरपुलको प्रतिद्वन्द्वी बायर्न

नियोन – इङ्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा पाँच पटकको च्याम्पियन जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ।

स्विट्जरल्यान्डको नियोनमा सोमबार भएको ‘ड्र’ मा साबिकको उपविजेता लिभरपुलले यस सिजन घरेलु लिगमा तेस्रो स्थानमा खुम्चिरहेको बायर्नसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्न लागेको हो। यता, उत्कृष्ट लयमा रहेको लिभरपुल भने घरेलु लिगमा अपराजित रहँदै शीर्ष स्थानमा छ।

जोसे माउरिन्होको म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्ने भएको छ। घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको इङ्लिस क्लब युनाइटेडले फ्रेन्च लिगमा शीर्ष स्थानमा रहेको पिएसजीको चुनौती समाना गर्नेछ।

गत वर्षको विजेता रियाल मड्रिडले भने डच टोली अयाक्ससँग अन्तिम १६ मा खेल्नेछ। च्याम्पियन्सको लिगको उपाधिमा ह्याट्रिक गरेको रियालले नकआउट चरणमा सहज प्रतिद्वन्द्वी अयाक्स पाएको छ। अर्को स्पेनिस टोली बार्सिलोनाले भने नकआउट चरणको पहिलो भेटमा लियोनसँग खेल्नेछ।

पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले अन्तिम १६ मा जर्मन क्लब साल्केसँग खेल्नेछ। रोनाल्डोको क्लब युभेन्ट्सले अन्तिम १६ मा भने स्पेनिस जायन्ट्स एट्लेटिकोको सामना गर्नेछ। बुन्डेसलिगामा शीर्ष स्थानमा रहेको डर्टमन्डले इङ्लिस क्लब टोटेनह्यामको सामना गर्नेछ।

दुई पटकको च्याम्पियन पोर्चुगिज क्लब पोर्टोले भने अन्तिम १६ मा इटालियन क्लब रोमासँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियन्स लिगको नकआउट चरणका खेल आगामी २० फेब्रुअरीदेखि सुरु हुनेछन्। पहिलो दिन म्यानचेस्टर सिटीले साल्केसँग र युभेन्ट्सले एट्लेटिको मड्रिडसँग खेल्नेछन्। 

प्रकाशित: ३ पुस २०७५ ०४:३८ मंगलबार

च्याम्पियन्स_लिग_ड्र बायर्न_म्युनिख लिभरपुल