खेल

चौथो आरबिबी एनभिए लिग भलिबल सुरु, अार्मी शीर्ष स्थानमा

पोखरामा आइतबारदेखि सुरु लिग भलिवलमा सशस्त्र प्रहरी बल (नीलो जर्सी) का खेलाडी विजय थापा नयाँ बजार स्पोटर्स क्लबविरुद्ध स्पाइक गर्दै । तस्बिर : उमेश/नागरिक

पोखरा - चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा विभागीय टोलीले शतप्रतिशत नजिता निकाल्दै तीन अंक जोड्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थान छ।

दुई खेलाडीको डेब्युमा साबिक विजेता आर्मीले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गर्दा उपाधिको दाबेदार मानिएको हेल्प नेपाल स्पोटर्स क्लबले भने ढोरपाटन स्पोटर्स क्लब काठमाडौंलाई पराजित गर्न चौथो सेटसम्म खेल्नुपर्यो। आइतबारदेखि चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा सुखद सुरुआत गर्ने क्रममा आर्मीले जावलाखेललाई २५–१९, २५–१५ र २५–११ को सेटमा पराजित गरेर तीन अंक जोड्दै लिगको शीर्ष स्थानमा रहिरह्यो। आर्मीले दुर्गा खड्का र सरन सामरीलाई पोखराबाटै राष्ट्रिय प्रतियोगितामा डेब्यु गराएको थियो।

हेल्प नेपालले ढोरपाटन स्पोटर्स क्लब काठमाडौंलाई चौथो सेटसम्म खेल्दै पराजित गर्यो। भारतीय खेलाडीलाई प्लेइङ सेटमा उतारे पनि समन्वयको अभावले हेल्प नेपालले चौथो सेटमा पुगेर नतिजा सुखद बनायो। पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट भने १७–२५ ले गुमायो। एक–एक सेटको बराबरीले ढोरपाटनको मनोबल उच्च बन्न पुग्यो। तेस्रो सेट हेल्प नेपालले २७–२५ ले आफ्नो पक्षमा बनाउँदा चौथो सेटमा भने २५–१४ को सहज जित निकाल्दै तीन अंक जोड्यो।

आइतबार नै नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रूपन्देहीलाई सोझो सेटमै पराजित गर्यो। पहिलो सेटमा २५–२० को जित निकालेको नेपाल पुलिस क्लबले दोस्रो सेट अझै सुधारिएको प्रदर्शन गर्दै २५–१८ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्न पुग्यो। यद्यपि २५–२१ ले सेट आफ्नो पक्षमा पार्दै पुलिसले लिगचरणको पहिलो खेल सुखदायी बनायो।

आइतबार मध्याह्नमा भएको  उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले भारतीय खेलाडी सम्मिलित नयाँ बजार स्पोर्ट्स क्लब, काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै लिगको शीर्ष स्थान ओगटेको हो। सशस्त्रले नयाँ बजारलाई २५–२२, २५–२१ र २५–१० को सेटले पराजित गर्यो। नेपाल भलिबल संघको आयोजनामा आइतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितालाई मुख्य प्रायोजक नेपाल राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले उद्घाटन गरेका थिए।

विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउनेछ। उपविजेता क्लबको पोल्टामा एक लाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पर्ने संयोजक राजकुमार गुरुङले जानकारी दिए। तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउनेछ। बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट डिफेन्स र बेस्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए। प्रतियोगिताका संयोजक गुरुङका अनुसार सोमबार दोस्रो दिन पाँच खेल खेलाइनेछ।

प्रकाशित: २ पुस २०७५ ०३:५४ सोमबार

भलिबल पोखरा त्रिभुवन_आर्मी