खेल

स्पेनिस ला लिगा : बेन्जिमाको गोलमा रियलको संघर्षपूर्ण जित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

खेलको १३ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए। सोही गोल रियललाई ३ अंक दिलाउन महत्वपूर्ण बन्यो। रियलका लागि गोलकिपर थिवाउट कोर्टोइजले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले भालेकानोका पटक पटकका सशक्त प्रहार विफल पारेका थिए।

खेलमा कप्तान सर्जियो रामोसको गोललाई अफसाइट दिइएको थियो भने टोनी क्रुज र लुकास भाज्क्वेजले पाएको मैकाको सदुपयोग गर्न सकेनन्। जितसँगै तेस्रो स्थानमा उक्लिएको रियलको १६ खेलबाट २९ अंक छ। १६ खेलबाट १० अंक जोडेको भालेकानो १९ औं स्थानमा रहदै रेलिगेशन जोनमा छ।

शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान ३१ अंक भएपनि बार्सिलोना पहिलो स्थानमा छ। यद्यपी बार्सिलोनाले एक खेल कम खेलेको छ।

गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई ३–२ गोल स्तब्ध पार्यो। भालाडोलिडको मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन एन्टोनियो ग्रिजम्यानले २ तथा निकोला कालिनिचले १ गोल गरे। पराजित टोलीका फर्नाण्डो कालेरोले एक गोल गर्दा अर्को एक गोल एथ्लेटिकोका सउलको आत्मघाती गोल गरेका थिए।

प्रकाशित: १ पुस २०७५ ०६:०० आइतबार

ला_लिगा_फुटबल रियल_मड्रिड करिम_बेन्जिमा