खेल

जितसँगै सिटी पुनः शीर्ष स्थानमा

लन्डन – ग्यब्रियल जिससको दुई गोल मद्दतमा शनिबार म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ।

घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो। २२औं मिनेटमा जिससले गोल गर्दै टोलीका लागि सुरुआती अग्रता दिलाएका थिए। जिससले अगस्टपछि टोलीका लागि गरेको यो पहिलो गोल हो। सुरुआतमा राम्रो प्रदर्शन गर्दै एभर्टनले घरेलु टोली सिटीलाई केही दबाब दिएको थियो। तर अन्तिम मिनेटसम्म सोही लयलाई निरन्तरता दिन नसक्दा एभर्टन अंक गुमाउनु बाध्य भयो।

लोरी सानेको पासमा पहिलो गोल गरेका जिससले ५०औं मिनेटमा पनि उनकै पासमा गोल गर्दै सिटीको अग्रता २–० मा पुर्याए। त्यसको १५ मिनेटपछि पाहुना टोली एभर्टनका लागि लुकास डान्जिनको पासमा डोमिनिक कालभार्ट लेविनले गोल गर्दै अग्रता छोट्याए।

घरेलु समर्थकको साथ  पाएको सिटीले ६९औं मिनेटमा अर्को गोल थप्यो। रहिम स्टर्लिङले फर्नान्डिन्होको पासमा आकर्षक गोल गर्दै सिटीको अग्रतालाई थप मजबुत बनाए। बाँकी समयमा एभर्टनले खेलमा फर्किने प्रयास गरे पनि सफल भएन।

खेलमा सिटीका मिडफिल्डर केभिन डी बु्रयना ७५औं मिनेटमा मैदान प्रवेश गरेका थिए। घुँडाको चोटका कारण गत नोभेम्बरबाट आराम गरिरहेका ब्रुयना रियाद माहारेजको स्थानमा मैदान प्रवेश गरेका थिए।

जितसँगै सिटीले यसअघि शीर्ष स्थानमा रहेको लिभरपुललाई २ अंकले पछाडि पार्दै पहिलो स्थानमा उक्लिन सफल भएको छ। सिटीले ४४ अंक जोड्दा ४२ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा झरेको हो।

प्रकाशित: १ पुस २०७५ ०१:३९ आइतबार

म्यानचेस्टर_सिटी प्रिमियर_लिग_फुटबल ग्यब्रियल_जिसस