खेल

अन्तिम खेलमा समेत पाेखरा पराजित, चितवनकाे सम्भावना जिवितै

काठमाडाैं - एभरेष्ट प्रिमियर लिगकाे आफ्नो अन्तिम खेलमा समेत पोखरा राइनाेजले हार व्यहोरेको छ। अन्तिम खेल अघि नै प्रतियोगिताको अर्को चरणमा पुग्न असफल पोखराले त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्ससँग खेलमा समेत ७ विकेटको हार व्यहोर्‍याे।

जितसँगै चितवनले भने प्लेअफको सम्भावना जिवितै राखेको छ। सोमबार हुने खेलमा काठमाडौँ किंग्स ११ ले विराटनगर वारियर्सलार्इ पराजित गरेकाे खण्डमा रन रेटकाे अाधारमा चितवन वा विराटनगर कुन टाेली प्लेअफमा जाने भन्ने टुङ्गाे लाग्नेछ। यदी उक्त खेलमा विराटनगर विजयी भए चितवन प्रतियाेगिताबाट वाहिरिने छ।

शनिबार सम्पन्न खेलमा चितवनले पोखरालाई ७ विकेटले पराजित गर्‍याे। पोखराले दिएको १ सय ३० रनको लक्ष्य चितवनले १९ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍याे। चितवनलाई जित दिलाउने क्रममा पउल स्टर्लिङले ५५ तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५४ रन बनाए। पोखराका नन्दन यादवले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो। पोखराका लागि सुनिल धमलाले सर्वाधिक ५१ रन बनाए। यस्तै विनोद भण्डारीले २७ तथा कप्तान केल कोइट्जरले २३ रन जोडे। चितवनका जर्ज स्कटले ३ तथा ललित भण्डारीले २ विकेट लिए।

लिग अन्तर्गत प्लेअफमा पुग्ने तीन टोलीको टुङ्गो लागिसकेको छ। ललितपुर, भैरहवा र काठमाडौं प्ले अफमा पुगिसकेका छन् भने एक टोलीको टुङ्गो लाग्न बाँकी रहेको छ। अाइतबार हुने खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीच खेल हुनेछ।

 

प्रकाशित: २९ मंसिर २०७५ ११:४६ शनिबार

एभरेष्ट_प्रिमियर_लिग पोखरा_राइनाेज चितवन_टाइगर्स