खेल

उदयपुरमा ‘प्रदेशस्तरीय ब्याडमिन्टन’

उदयपुर – उदयपुर सदरमुकाममा शनिबार बिहानदेखि प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको फाइनल खेल सुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा ‘दोस्रो १ नं. प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ०७५’ को फाइनल खेल सुरु भएको हो।

त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा आयोजित प्रतियोगितामा साविक पूर्वाञ्चलका १६ वटै जिल्लाका ब्याडमिन्टन खेलाडीहरू प्रतिस्पर्धारत छन्। शुक्रबार सुरु पहिलो दिन सम्पन्न सेमिफाइनल खेलमा छानिएका सबै एकल तथा युगल खेलाडीले शनिबार साँझसम्म विजेता उपविजेताको नतिजा निकाल्नेछन्।

जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीका अनुसार यसअघि ५ पटक पूर्वाञ्चलस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिसकेको संघले गत वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता गर्न थालेको हो। वर्षेनी गरिने प्रतियोगिताको सुरुवात तत्कालीन पूर्वाञ्चलब्यापी खेल २०६१ देखि सुरु भएको हो।

प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान्स, महिला एकल र युगल तथा किशोर (१७ वर्षमुनि) का गरी ५ इभेन्टमा प्रतिस्पर्धा गराइदैछ। पुरुष युगलतर्फ २७ जोडी, पुरुष भेट्रान्स युगल (४५ वर्षमाथि) १२ जोडी र पुरुष एकल किशोरतर्फ १९ जनाको सहभागिता रहेको छ। त्यसैगरी महिला युगलतर्फ खुल्ला ८ जोडी र एकलतर्फ १९ जना खेलाडीकै सहभागिता रहेको आयोजक खेल संयोजक तथा पूर्व अध्यक्ष दिपक राईले बताए।

शनिबार सबै चरणको फाइनल खेल सकेर समापन समारोह आयोजना गरी पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको राईले बताए। विजेतालाई पुरुष युगलतर्फ २५ हजार नगद र ट्रफी प्रदान गरिने छ भने उपविजेता टिम १५ हजारको हकदार हुनेछ भने तेस्रो स्थान पाउनेलाई पनि १० हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।  पुरुष भेट्रान्सतर्फ २० हजार नगद र ट्रफि मातथा उपविजेता र तेस्रोलाई १२ हजार र ८ हजार नगदसाथ सिल्ड, मेडल र प्रमाणपत्र दिइने छ।

त्यसैगरी महिला युगलतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः नगद १४ हजार, १० हजार र ८ हजारका साथ ट्रफी र प्रमाणपत्र दिइने छ किशोर प्रतिस्पर्धी विजेतालाई क्रमशः ५ हजार, ३ र २ हजार नगदसाथ ट्रफी र प्रमाणपत्रको व्यवस्था भएको आयोजकले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७५ ०९:०९ शनिबार

उदयपुर ब्याडमिन्टन