खेल

च्याम्पियन्स लिग : मस्कोसँग रियल मड्रिडको लज्जास्पद हार

काठमाडौं – साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेको छ। समूह ‘जी’ मा रहेको रियलले घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा रसियन क्लब सिएसकेए मस्कोसँग ३–० को हार ब्यहोर्यो।

यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको रियलले च्याम्पियन्स लिगमा घरेलु मैदानमा अहिलेसम्मको ठूलो हार ब्यहोरेको हो। खेलको ३७ औं मिनेटमा फ्योडोर चालोभको गोलमा मस्कोले अग्रता बनाएको थियो। लगत्तै ४३ औं मिनेटमा जर्जीले गोल गर्दै मस्कोको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २ गोल गरेको मस्कोका लागि ७३ औं मिनेटमा सिगुर्डसनले अर्को गोल थप्दै रियललाई नमिठो हार चखाए। यसअघि सन् २००८ २००९ को सिजन घरेलु मैदानमा रियल युभेन्ट्ससँग पराजित भएको थियो। पराजित भएपनि रियल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। रियलले ६ खेलबाट १२ अंक जोड्यो। मस्को ७ अंक जोडेर समूहको पुछारमा रह्यो।

यही समूहको अर्को खेलमा इटालियन क्लब रोमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको छ। गएराति भएको खेलमा भिक्टोरिया प्लाजेनसँग २–१ ले पराजित भएपनि रोमाले अघिल्लो चरणको यात्रा तय गर्यो। रोमाले ९ अंक जोड्यो। ७ अंक जोडेको प्लाजेनले तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्त्य गर्यो।

प्रकाशित: २७ मंसिर २०७५ ०६:१९ बिहीबार

साविक_विजेता रियल_मड्रिड च्याम्पियन्स_लिग लज्जास्पद_हार