खेल

टाेमार र काेल्सावालाकाे सतकीय साझेदारीमा ललितपुरद्वारा काठमाडाैं १० विकेटले पराजित

काठमाडौंविरुद्ध ब्याटिङ गर्दै ललितपुरका गौरव तोमर । तस्बिरः नागरिक

काडमाडौं - काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स ११ लाई १० विकेटले पराजित गरेको छ। तेस्रो जित निकाल्ने क्रममा ललितपुरका गौरव टोमार र जयकिशन कोल्सावालाले पहिलो विकेटका लागि गरेको उत्कृष्ट सतकीय साझेदारीमा ललितपुरले सम्मानजनक जित हात पारेको हो।

ललितपुरले काठमाडौं विरुद्धको खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो। काठमाडौं विरुद्धको खेल जित्नका लागि पाएको १ सय १० रनको सामान्य लक्ष्य ललितपुरले १० दशमलव ३ ओभरमा विना विकेट क्षति भेट्टायो। ललितपुरका टोमारले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ८० रन बनाए। उनले ९ चौका र ५ छक्का प्रहार गरे। यस्तै टोमारलाई साथ दिएका कोल्सावालाले २८ बलमा २७ रन बनाए।

यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो। काठमाडौंका कप्तान केभिन ओव्रायनले सर्वाधिक ४२ तथा सिद्धान्त लोहनीले २१ रन बनाउनु वाहेक अन्य खेलाडीहरुले सम्झनलाएक प्रदर्शन गर्न सकेनन्। काठमाडौंका ८ खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन्। उसका तीन खेलाडीले खाता समेत खोल्न सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितपुरका पवन सर्राफले ३ तथा रासिद खान र योगेन्द्र सिंह कार्कीले समान २/२ विकेट लिए। जितसँगै ललितपुरले ४ खेल मध्ये ३ मा जित हात पार्दै अंक तालिकाकाे शिर्ष स्थानमा उक्लेकाे छ।

प्रकाशित: २६ मंसिर २०७५ १०:०८ बुधबार

एभरेष्ट_प्रिमियर_लिग ललितपुर_प्याट्रियट्स काठमाडौं_किंग्स_११