खेल

च्याम्पियन्स लिग : सालाहको गोलमा लिभरपुल अन्तिम १६ मा

काठमाडौं – इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। लिभरपुलले मंगलबार राति भएको समूहको अन्तिम खेलमा इटालियन क्लब नापोलीलाई १–० गोलले पराजित गर्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो।

एन्फिल्ड जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको लिभरपुलले खेलको ३४ औं मिनेटमा अग्रता लिएको थियो। उसका लागि जेम्स मिल्नरको पासमा मोहम्मद सालाहले गोल गरेका थिए। सालाहको प्रहार नापोलीका गोलकिपर डेभिड ओस्पीनाले रोक्ने कुनै मौका पाएनन्। अन्तिम समयमा गोलकिपर एलिसनले नापोलीका आर्काडिउस मिलिक प्रहारको उत्कृष्ट बचावट गरेपछि लिभरपुलको जितमा सालाहको गोल निर्णायक बन्यो।

गत सिजन फाइनलमा रियल मड्रिडसँग पराजित भएको लिभरपुल सन् २००८–२००९ पछि लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको यो पहिलो पटक हो। बराबरीको नतिजाले पनि नकआउट चरण गुग्ने अवस्थामा रहेको नापोली भने समूह चरणबाटै बाहिरिन बाध्य भयो।

लिभरपुलकै समूहमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सर्बियाको रेड स्टार बेलग्रेडलाई ४–१ गोलले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान सुरक्षित गर्यो। पिएसजीको जितमा एडिन्सन काभानी, नेइमार, किलियन एमबाप्पे र मार्किन्होसले गोल गरे। पराजित टोलीका लागि मार्को गोबेल्जिकले एक गोल फर्काए। पिएसजी समूह ‘सी’ को विजेता र लिभरपुल उपविजेता बनेका छन्।

प्रकाशित: २६ मंसिर २०७५ ०५:४२ बुधबार

च्याम्पियन्स_लिग_फुटबल लिभरपुल अन्तिम_१६