खेल

पुरुष हाफ म्याराथनमा आर्मीको कब्जा

हाफ म्याराथनमा फिनिसिङ लाइन टच गर्दै होमलाल श्रेष्ठ। तस्बिर धन/नागरिक

पोखरा – पाँचौं ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर आयोजित पुरुष हाफ म्याराथनमा नेपाली सेनाका धावकले आधिपत्य कायम गरेका छन्।

नेपाली सेनाका धावक होमलाल श्रेष्ठले मंगलबार वैकुण्ठ मानन्धर ग्रेट हिमालय पर्वतीय हाफ म्याराथनको उपाधि जितेका छन्। श्रेष्ठले २१ किलोमिटरको दूरी १ घण्टा २१ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि जित्दा नेपाली सेनाकै धावक कृष्ण बस्नेतले १२ सेकेन्डले पछि पर्दै उपविजेतामा चित्त बुझाए।

बस्नेतले १ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दूरी पूरा गरेका थिए। तेस्रो पनि नेपाली सेनाकै खगेन्द्र भाट भए। उनले दौडलाई १ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरे। ‘दौडमा खासै समस्या भएन। रुटमा जटिलता रहेन। गाडी कम गुड्ने रुट भएकाले त्यस्तो समस्या भने बेहोर्न परेन,’ उपाधिविजेता श्रेष्ठले भने, ‘अब राष्ट्रिय खेलकुद र साग खेलकुदको तयारीतर्फ ध्यान दिएका छौं।’ उनका अनुसार अब राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहने भन्दै पोखरामा आगामी फागुनमा हुने म्याराथनमा सहभागी हुने सम्भावना कम हुने जिकिर गरे। उनले पोखरा म्याराथनलगत्तै नेपाली सेनाले नै आयोजना गर्ने म्याराथन हुँदा पनि पोखरा म्याराथनमा सहभागी हुने सम्भावना कम रहेको उल्लेख गरे।

महिलातर्फको १० किलोमिटर दौडमा सरिता बासी प्रथम भइन्। उनले दौड ३५ मिनेट ३२ सेकेन्डमा पूरा गरिन्। त्यसै गरी ३६ मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै रेशु बस्नेत दोस्रो र ३७ मिनेट ४३ सेकेन्डको समयमा दूरी पूरा गर्दै भूमि बुढामगर तेस्रो भए। महिलातर्फको प्रतिस्पर्धामा केवल ५ धाविका संलग्न थिए। पुरुष हाफ म्याराथनमा २४ धावकको सहभागिता  थियो।

हाफ म्याराथन पुरुष विजेतालाई नगद ५० हजार रुपैयाँ प्रदान गरियो। उपविजेताले २५ हजार र तेस्रा धावकले १० हजार रुपैयाँ पुरस्कार पाए। महिलातर्फको दौड विजेता धाविकाले २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। पुरस्कार राशिको प्रायोजन भने नबिल बैंकले गरेको समेत नेपाल पर्वतरोहण संघले जनाएको छ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले महोत्सवको उद्घाटन गर्दै पर्यटन क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मानित गरे।

प्रकाशित: २५ मंसिर २०७५ २३:३२ मंगलबार

पर्वतारोहण_दिवस पुरुष_हाफ_म्याराथन नेपाली_सेना होमलाल_श्रेष्ठ