खेल

टोमारकाे उत्कृष्ट ब्याटिङमा ललितपुरकाे लगातार दाेस्राे जित, पाेखरा पराजित

काठमाडाैं - काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले दोस्रो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो। पहिलो खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो।

सोमबारको हारसँगै पोखरा भने लगातार दोस्रो हार व्यहोर्दै अंक तालिकाको पुछारमा रहेको छ। ललितपुर भने ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा पराजित भएपनि ललितपुरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको छ।

सोमबार भएको खेलमा पोखराले दिएको १ सय ६७ रनको लक्ष्य ललितपुरले २ विकेट गुमाउँदै १५ दशमलव ५ ओभरमा पुरा गर्यो। ललितपुरलाई सजिलै जित दिलाउने क्रममा गौरभ टोमारले उत्कृष्ट इनिङ खेले। गौरभले ४१ बलमा ८२ रन बनाए। उनले ४ चौका र ८ छक्का प्रहार गरे। यस्तै जयकिसन कोल्सावालाले ५१ रन बनाए। पोखराका पउल कग्लिन र शुसन भारीले समान एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन जोडेको थियो। पोखराका लागि रिचार्ड लेभिले ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए। ३९ बल सामना गरेका उनले ३ चौका र ९ छक्का प्रहार गरे। यस्तै विनोद भण्डारीले अविजित ३४ तथा कप्तान केल कोइट्जरले १९ रन बनाए। ललितपुरका पवन सर्राफले ३ विकेट लिए। खेलको म्यान अफ दि म्याच गौरभ टोमार भए। हालसम्म खेलेका दुवै खेल गुमाएको पोखराको अर्को चरण पुग्ने सम्भावना कठिन बन्दै गएको छ।

यसैबीच मंगलबार हुने पहिलो खेलमा बिराटनगर वारियर्स र पोखरा राइनोज खेल्दै छन् भने दोस्रो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच खेल हुनेछ।

प्रकाशित: २४ मंसिर २०७५ १०:४८ सोमबार

एभरेष्ट_प्रिमियर_लिग ललितपुर_प्याट्रियट्स पोखरा_राइनोज