खेल

सन्दीप अस्ट्रेलियातर्फ

काठमाडौं – दुई महिनाअघि अस्ट्रेलियाको लिग बिग बास टोली मेलबर्न स्टार्ससँग अनुबन्धित नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइतबार अस्ट्रेलिया प्रस्थान गरेका छन्।

१८ वर्षे  युवा स्पिनर सन्दीपले जनवरी पहिलो सातासम्म अस्ट्रेलियाली टोली मेलबर्न स्टार्सबाट खेल खेल्नेछन्।  त्यसपछि जनवरी ५ मा उनी सिलेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्नका लागि बंगलादेश जानेछन्।  बंगलादेश प्रिमियर लिग सकिएपछि उनी फेरि बिग बास लिगको अन्तिम चरण खेल्न अस्ट्रेलिया पुग्ने तालिका रहेको छ।

अस्ट्रेलिया जानूपूर्व काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) मा  ललितपुर प्याट्रियोट्सको तर्फबाट खेल्दै टोलीको जितमा महत्वपूर्ण योगदान गरेका थिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा ललितपुरले चितवन टाइगर्समाथि ११ रनको जित हासिल गर्दा सन्दीपले महत्वपूर्ण इनिङ खेल्दै टोलीलाई पहिलो जित दिलाएका थिए।

गत वर्ष सन्दीपले भारतको चर्चित इन्डियन प्रिमियर (आइपिएल) क्लब दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए। उक्त प्रतियोगितामा सहभागिता जनाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै बलिङको जादु देखाएका थिए। आइपिएलमा खेल्ने उनी पहिलो नेपाली खेलाडी बनेका थिए।

प्रकाशित: २४ मंसिर २०७५ ०२:४९ सोमबार

अस्ट्रेलिया सन्दीप_लामिछाने