खेल

भरत र अस्मिता च्याम्पियन

काठमाडौं – भरत थापामगर र अस्मिता श्रेष्ठ शुक्रबार सम्पन्न क्याडी प्रतियोगितामा च्याम्पियन भएका छन्। गोकर्ण गल्फ क्लबमा भएको खेलमा निर्धारित १८ होलको खेलमा बराबरी भएपछि थप गरिएको अतिरिक्त होलमा जित निकाल्दै भरत च्याम्पियन भएका थिए। कुल १८ होलको समाप्तीमा भरत, नारायण चौलागाईं र कृष्णमुरारी सापकोटाले समान ९ ओभर ८१ स्कोर गरेपछि खेल अतिरिक्त होलतर्फ धकेलिएको थियो।

थपिएको पहिलो होलमा भरतले पार हान्दै जित निकाल्दा नारायणले बोगी र कृष्णमुरारीले भने निरासाजनक प्रदर्शन गरेका थिए। च्याम्पियन भरतले ट्रफीसँगै ११ हजार नगद जित्दा नारायण र कृष्णमुरारीले समान ७ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए। चौथो भएका सुमन नेपालले ११ ओभर ८३ स्कोर गर्दा ५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए।

डिफेन्डिङ च्याम्पियन विष्णु भण्डारी भने यस संस्करणमा पाँचौं स्थानमा सीमित भए। सुमनले कुल ११ ओभर ८३ स्कोर बटुलेका थिए। उनले नगद ४ हजार पुरस्कार जितेका थिए। सातौं स्थानका सुरेश श्रेष्ठले १४ ओभर ८६ स्कोर तथा आठौंका धर्म पौडेलले १५ ओभर ८७ को स्कोरकार्ड बनाएका थिए।

त्यस्तै १७ ओभर ८९ स्कोरसहित विवेक पराजुली नवौंमा तथा बलराम पौडेलले १८ ओभर खेलेपछि दशौंमा नै खुम्चिएका थिए। कुल चार होलमा खेलाइएको महिलातर्फ अस्मिता श्रेष्ठ २५ स्कोर गर्दै च्याम्पियन भइन्। अस्मिताले ट्रफीसँगै ४ हजार नगद पुरस्कार जितिन्।

उर्मिला नगरकोटीले २९ स्कोरसहित दोस्रो र ३१ स्कोर बटुलेकी अनु गुरुङ तेस्रो स्थानमा रहिन्। उर्मिलाले २ हजार र अनुले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेकी थिइन्। प्रतियोगितामा २५ पुरुष र ७ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये १६ पुरुष र तीन महिला खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका विजेतालाई गोकर्ण गल्फ क्लबका डाइरेक्टर दीपक आचार्य लगायतले पुरस्कृत गरेका थिए।   

प्रकाशित: २२ मंसिर २०७५ ०४:३७ शनिबार

भरत_थापामगर अस्मिता_श्रेष्ठ क्याडी_प्रतियोगिता गोकर्ण_गल्फ_क्लब