खेल

आजबाट इपिएल, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै

काठमाडौं –  विराटनगर वारियर्सले शनिबार ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर  लिग(इपिएल) २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ।

प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का कप्तानीमा रहेको विराटनगरले अपराजित रहँदै गत संस्करणको उपाधि उचालेको थियो। बिहीबार आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सहभागी ६ वटै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका थिए।

पारस खड्का,कप्तान विराटनगर वारियर्स
स्वभाविक रूपमा हामी साविक विजेता भएकाले हामीमाथि उपाधि रक्षाको दबाब हुनेछ। गत वर्ष हामी उपाधि जित्दा प्रतियोगिता अवधीभर अपराजित रहेका थियौं। त्यसैले यसपटक पनि सोही प्रदर्शन दोहो-याउनु टोलीका लागि ठूलो चुनौती हुनेछ। प्रतियोगिताका सरुआती खेलमा गर्ने टोलीको प्रदर्शनले हाम्रो यात्रा निर्धारण गर्नेछ।

सहभागि सबै टोलीमा उत्कृष्ट खेलाडी छन्। त्यसैले प्रतिस्पर्धा थप कठिन हुने निश्चित छ। हाम्रो पहिलो लक्ष्य भनेको शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाउनु हो। त्यसपछि मात्र उपाधिका लागि खेल्ने हो।

शरद भेषावकर भैरहवा ग्लाडियटर्स
अन्तिममा सम्हालिन नसक्दा गतवर्ष उपाधिनजिक पुगेर पनि उपविजेतामा  सीमित भयौं। गत वर्षभन्दा यसपटक हाम्रो टिम राम्रो बनेको छ। त्यसैले गत वर्षभन्दा राम्रो खेलेर उपाधि जित्ने प्रयास गर्नेछौं। नामले मात्र हुँदैन, मैदानमा खेलाडीले गर्ने प्रदर्शनले मात्र टोलीको नतिजा निर्भर हुनेछ। यसपटक टोलीको तयारी पनि राम्रो छ। त्यसैले उपाधि जित्नेमा आशावादी छौं।

ज्ञानेन्द्र मल्ल ललितपुर प्याट्रियोट्स
गतवर्ष फाइनलनजिक पुगेर पनि हार्यौं। जुन हाम्रो दूर्भाग्य रह्यो। यसपाली गतवर्षको भन्दा टोली राम्रो बनेको छ। हाम्रो टिममा ठूलो नाम चलेका विदेशी खेलाडी छैनन्। यसको अर्थ हाम्रो टोली कमजोर छ भन्ने होइन। खेलाडीको नामले भन्दा पनि उसले गर्ने प्रदर्शनले टोलीले जित हात पार्ने हो। विदेशी खेलाडीबाट नेपाली खेलाडीले यसपटक धेरै सिक्ने अवसर पाउनेछन्।

काइल कोइट्जर, कप्तान पोखरा राइनोज
मैले विगतमा नेपाली खेलाडीहरुसँग खेलिसकेको छु। तर यहाँको वातावरण मेरो लागि नयाँ र चुनौतीपूर्ण छ। नेपाली खेलाडी र समर्थकको क्रिकेटप्रतिको लगाव राम्रो छ। पोखरामा युवा तथा अनुभवी खेलाडीको समिश्रण भएकाले सुखद् नतिजा ल्याउनेमा आशावादी छौं प्रयास गर्नेछौं।

सोमपाल कामी, कप्तान काठमाडौं किंग्स–११
गतवर्ष पनि टोली उत्कृष्ट थियो। तर पनि हामीले सोचेअनुरूपको प्रदर्शन गर्न  सकेनौं। यद्यपि, त्यो विगत भैसक्यो। अब हामी भविष्य हेर्नेछौं। त्यसैले हामी यो वर्ष राम्रो प्रदर्शन गर्नेछौं। टिम राम्रो बनेको छ। केभिन ओ ब्रायन टोलीमा छन्। उनी नेपाली खेलाडीसँग घुलमिल भइसकेका छन्। आशा गरौं, हामी राम्रो गर्नेछौं।

पृथु बास्कोटा, कप्तान चितवन टाइगर्स
जसले राम्रो प्रदर्शन गर्छ उसैले जित्ने हो। गतवर्ष विविध कारणवस चितवनको प्रदर्शन राम्रो हुन सकेन। तर यसपटक हामी राम्रो गर्ने प्रयास गर्नेछौं। मेरा लागि फ्रेन्चाइज लिगमा कप्तानीको नयाँ अनुभव हो। विदेशी र युवा खेलाडीको समिश्रणले टोली राम्रो बनेको छ।

प्रकाशित: २२ मंसिर २०७५ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App