खेल

मिलीलाको पोष्टमा रियलको आधा दर्जन गोल

काठमाडौं – रियल मड्रिड कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब मिलीलालाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान बनायो।

पहिलो लेगमा मिलीलामाथि ४–० को जित निकालेको रियल समग्रमा १०–१ ले विजयी बन्दै अघिल्लो चरणमा प्रवेश गर्यो। रियलको जितमा मार्को एसेन्सियो र इस्कोले २–२ तथा हाभियर सान्चेज र भिनिसियर जुनियरले गोल गरे।

रियलले पहिलो गोल गर्न ३३ मिनेट कुर्नुपरेको थियो। ३३ औं मिनेटमा मार्को एसेन्सियोको गोलमार्फत रियलले खेलमा अग्रता बनायो। त्यसको दुई मिनेटपछि फेरी मार्कोले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ३९ औ मिनेटमा हाभियर सान्चेजले गोल गर्दा रियलले अग्रता तेब्बर पार्यो।

पहिलो हाफमा ३–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप ३ गोल गर्दा १ गोल खायो। ४७ औं मिनेटमा इस्कोले टिमका लागि चौंथो गोल गरे। ७५ औं मिनेटमा भिनिसियर जुनियरले रियलका लागि पाँचौ गोल गरे। ८१ औ मिनेटमा मिलीलाले एक गोल फर्कायो।

रियलका खेलाडीले मिलीलाका खेलाडीलाई डिबक्स भित्र  फाउल गरेपछि पाएको पेनाल्टीमा क्वास्मीले गोल गरे। तर, ८२ औं मिनेटमा फेरी इस्कोले ब्याक्तिगत दोस्रो तथा रियलका लागि छैंटौ गोल गरे। रियलले अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएको थियो।

प्रकाशित: २१ मंसिर २०७५ ०५:१८ शुक्रबार

रियल_मड्रिड कोपा_डेल_रे_फुटबल अन्तिम_१६