खेल

नेपालीको चुनौती समाप्त

काठमाडौं – योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ मा बिहीबार नै नेपाली खेलाडीको चुनौती सकिएको छ।
हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको कभर्डहलमा बिहीबार क्वार्टरफाइनलमा पुरुष एकलका रत्नजित तामाङसँगै, पुरुष डबल्स, महिला डबल्स र मिक्समा नेपाली टोली स्तब्ध भएपछि प्रतियोगितामा नेपाल पदकविहीन नै रहने भएको छ।

पुरुष एकलको क्वार्टरफाइनलमा रत्नजितले भारतीय खेलाडी कौशल धर्ममिरलाई चुनौती दिए पनि २१–१४, २२–२४ र २१–११ ले स्तब्ध भए। महिला डबल्समा पनि नेपालका जेसिका गुरुङ र सुनैना मुखियाको जोडीले क्वार्टरफाइनलमा माल्दिभ्सकी अमिनाथ नविहा र फथिमा नवाहसँग २१–१२ र २१–११ ले स्तब्धपूर्ण हार बेहोर्यो।

महिला डबल्सकै अर्को क्वार्टरफाइनलमा अमिता गिरी र रसिला महर्जनले इरानकी सौरया अघाइहाजिआघा र मलेसियाकी थेट हटारलाई वाक ओभर दिएका थिए। मिक्स डबल्सको क्वार्टरफाइनलमा नेपालका दीपेश धामी र शोभा गौचनको जोडी सिंगापुरका डेनी बावा र टान वेईसँग २१–११ र २१–१० ले पराजित भयो।

मिक्स डबल्सकै अर्को खेलमा नेपालका पूजा श्रेष्ठ र विजित थापामगर क्वार्टरफाइनलमै थाइल्यान्डकी पनाचाई वारासाक्तायानन र पिचायानिन उङ्कासँग २४–२२ र २१–१४ ले पराजित भए। मिक्समै नेपालका सीता राई र विकास श्रेष्ठ क्वार्टरफाइनलमा भारतीय जोडी राजु रेहान र एनिस कोसवारसँग २१–१६ र २१–८ ले पराजित भए।

पुरुष डबल्समा नेपालका शीर्ष दुई खेलाडीको जोडी रत्नजित तामाङ र दीपेश धामीले पनि क्वार्टरफाइनलमा थाइल्यान्डका पनाचाई वारासाक्तायानन र वारित सरापतलाई चुनौती दिए पनि २१–१९, १६–२१ र २१–१४ ले पराजित भएपछि नेपाल पदकविहीन रह्यो।  

प्रकाशित: २१ मंसिर २०७५ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App