खेल

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी, कुन खेलाडी कुन क्लबमा ?

काठमाडौं– यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन्।

प्रत्येक टोलीले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले ३–३ तथा एउटा क्लबले २ विदेशी खेलाडी अनुबन्ध गरेको छ। पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सले पाउल स्टर्लिङ (आयरल्याण्ड), जोन सिमसोन तथा जर्ज स्कट (इङल्याण्ड)लाई क्लबमा अनुबन्ध गरेको छ।

शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्सले रायन टेन डोसच्याटे (नेदरल्याण्डस), मोहम्मद नाभिद (युएइ), रवि इन्दर सिंह (भारत) तथा पारस खड्काको कप्तानीको विराटनगर वारियर्सले बाबर हायत (हङकङ) तथा पाउल भान मेकेरेन र रोएलोफ भान डेर मेर्वी (नेदरल्याण्डस) लाई क्लबमा अनुबन्ध गरेको छ।

सोमपाल कार्मीको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ ले रोहन मुुस्तफा (युुएई) र केभिन ओ ब्रायन (आयरल्याण्ड) तथा ज्ञानेन्द्र मल्लको कप्तानीको ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर (भारत)लाई ल्याएको जनाएको छ।

शक्ति गौचनको कप्तानीको पोखरा राइनोजले सन्नी भिमसारिया (हङकङ), काइल कोइट्जर (स्कटल्याण्ड) र पाउल कोलिन (इङल्याण्ड)लाई क्लबमा ल्याएको छ। यही मङ्सिर २२ गतेदेखि शुरु हुने उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ।

विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ। राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई–दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए।

पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ।   (कुमार चौलागाईं/रासस)

प्रकाशित: २० मंसिर २०७५ ०८:४५ बिहीबार

एभरेस्ट_प्रिमियर_लिग विदेशी_खेलाडी