काठमाडौं – नेपालका शीर्ष खेलाडी रत्नजित तामाङ र दीपेश धामी मंगलबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज–२०१८ को पुरुष एकलमा अन्तिम ३२ मा पुगेका छन्।
मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको अन्तिम ६४ को खेलमा रत्नजितले भारतका ध्रुव कुमारलाई २२–२०, २२–२४ र २१–१४ ले हराउँदै अन्तिम ३२ को यात्रा तय गरेका हुन्। बुधबारको अन्तिम ३२ मा रत्नजितले मरिससका तेजराज पुल्टोसँग प्रतिस्पर्धा गर्नेछन्।
दीपेशले भने माल्दिभ्सका अहमेद निबाललाई २१–८ र २१–१ ले हराउँदै अन्तिम ३२ मा स्थान बनाए। दीपेशले अन्तिम ३२ मा बुधबार मलेसियाका टेक झीविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। त्यस्तै पुरुष एकलकै अन्य खेलमा प्रिन्स दाहाल, नवीन श्रेष्ठ, प्रफुल्ल महर्जन, विजित थापामगर र विकास श्रेष्ठले जित निकाल्दै अन्तिम ३२ मा स्थान बनाए।
प्रिन्सले बंगलादेशका मंगल सिंहलाई २१–१५, १५–२१ र २१–९ ले, नवीनले बंगलादेशकै मोहम्मद सलमान खानलाई २१–१५ र २१–१९ ले, प्रफुल्लले मरिससका क्रिस्टोफर पाउललाई २१–१९ र २१–१४ ले, विजितले भुटानका सुभर्सन लामालाई २१–१९ र २१–७ ले तथा विकासले माल्दिभ्सका सरिम मोहम्मेदलाई २१–१५ र २१–७ ले हराउँदै अन्तिम ३२ को यात्रा तय गरे।
बुधबारको अन्तिम ३२ मा प्रिन्सले भियतनामका ली डुक फलसँग, नवीनले थाइल्यान्डका कुनलाभुल भितिदर्शनसँग, प्रफुल्लले भारतका अमेया ओकसँग, विजितले भुटानका कर्मा छेन्द्रु र विकासले नेपालकै जीवन आचार्यसँग प्रतिस्पर्धा गर्नेछन्। गैरवरीयताका खेलाडी जीवनले भने मंगलबारको छनोट चरणमा वाकओभर पाएर अन्तिम ३२ मा स्थान बनाएका थिए।
मंगलबार पुरुष एकलको खेलमा साजनकृष्ण ताम्राकार भने विश्व नम्बर–८१ का भियतनामका खेलाडी काव कुङ फामसँग २१–१० र २१–१५ ले पराजित हुँदै अन्तिम ६४ बाटै बाहिरिए। काव नै हालसम्म यस प्रतियोगितामा सहभागी सर्वाधिक वरीयताका खेलाडी हुन्।
पुरुष एकलमै नेपालका गौतम कठायत मलेसियाका गोह गिएप चिनसँग २१–७ र २१–६ ले, दीपक बोहरा माल्दिभ्सका हुसने जायन सइदसँग २१–१३, २४–२२ र २३–२१ ले इरफान अन्सारी पाकिस्तानका अमिर सइदसँग २१–१२ र २१–१७ ले, रुकेश महर्जन मलेसियाका टेक झी सोसँग २१–५ ५ र २१–९ ले तथा सुनील जोशी इरानका आमिर जब्बारीसँग २१–१७ र २१–१४ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिए।
बुधबार पुरुष एकल, महिला एकल र मिक्सका खेल हुनेछन्। विश्वका गैरवरीयता खेलाडी नेपालका सम्झना महर्जन र सीमा राजवंशी मंगलबार छनोट चरण पार गर्न असफल रहे।
प्रकाशित: १८ मंसिर २०७५ २३:४४ मंगलबार