खेल

प्रस्तावित रंगशालाविरुद्ध भक्तपुरमा विरोधसभा

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल र ९ मा निर्माण गर्ने भनिएको प्रस्तावित रंगशालाविरुद्ध किसानले मंगलबार विरोधसभा गरेका छन्।

खेतीयोग्य जमिनलाई मासेर रंगशाला बनाउन लागेको भन्दै किसानले सूर्यविनायक नगरपालिका कटुञ्जे भक्तपुरमा पुगेर विरोधसभा गरेका हुन्। सूर्यविनायक नगरपालिकाभित्र पर्ने यो ठाउँको जग्गालाई जोगाउन ध्यानाकर्षण होस् भनेर किसानले नगरपालिकाका अगाडि विरोधसभा गरेका हुन्।

जग्गाधनी समुदायसँग छलफललै नगरी तथा सहमति र स्वीकृति नै नलिई हल्लाको भरमा रंगशाला बनाउन खोजेको भन्दै किसानले विरोध जनाएका हुन्।  उनीहरूले रंगशाला चाहिँदैन, खेतियोग जग्गा र बस्ती हटाउँन पाइदैन भनी विरोध जुलुस समेत गरेका हुन्।

रंगशालाले १ हजार ५ सय घर परिवार विस्थापित हुने, २ हजार खेतियोग्य जमिन पनि विनाश हुने किसानको भनाई छ। सभामा प्रस्तावित रंगशाला पीडित संघर्ष समितिका अध्यक्ष हरिकृष्ण दनेगुलुलगायतले आफूहरूको एउटै माग रंगशाला बनाउनु हुँदैन रहेको बताए। यसअघि उनीहरूले भक्तपुरका प्रमुख जिल्ला अधिकारी र  खेलकुद मन्त्रीसमेतलाई विरोधपत्र बुझाइसकेका छन्।

प्रकाशित: १८ मंसिर २०७५ ०८:३० मंगलबार

रंगशाला भक्तपुर विरोधसभा