खेल

खेल संघमा देखिएको विवाद अन्त्य गर्नुपर्छ : मन्त्री विश्वकर्मा

काठमाडाैं - युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल संघमा देखिएको विवाद चाँडै अन्त्य गर्नैुपर्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अाइतबार आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुदको तयारी तथा १८ औं एसियाली खेलकुदको समिक्षा गर्न आयोजना गरेको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन्। मन्त्री विश्वकर्माले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्चयाउँदै अगाडि बढ्नु पर्ने बताउदै राज्यको श्रोत र साधनले भ्याएसम्म खेलकुदको विकासमा गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुदको विकास चाहने सबैसँग मिलेर अगाडि बढ्ने बताउदै खेलकुद संघमा रहेको विवादको अन्त्य गर्न जरुरी भएको बताए।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले दुई–दुई वर्षमा आयोजना गर्नु पर्ने बृहत राष्ट्रिय खेलकुदको आठौं संस्करण समयमै हुने बताउदै पूर्वाधार निर्माण तीव्र गतिमा तयार हुँदै गरेकाले आठौं राष्ट्रिय खेलकुद समयमा हुँदैन कि भन्नेमा आशंका नरहेको बताए। सदस्य–सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिने हिसाबले सागको तयारी अगाडि बढिरहेको जानकारी दिए।

प्रकाशित: १६ मंसिर २०७५ १५:४८ आइतबार

युवा_तथा_खेलकुद_मन्त्री जगतबहादुर_सुनार_(विश्वकर्मा)