खेल

मनाङ र संकटा विजयी

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रा कायमै राख्दा संकटा क्लबले चौथो जित हात पारेको छ। शनिबार भएको लिग अन्तर्गतका पाँचौ चरणका खेलमा दुवै टोलीले जित निकालेका छन्।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ ले पराजित गरेको हो। जितसँगै संकटाले ५ खेलमा ४ मा जित र एकमा हार व्यहोर्दै १२ अंक जोडेको छ। जितसँगै संकटा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानको थ्री स्टारसँग समान खेलबाट बराबरी अंक भएपनि संकटा गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको हो। शनिबार च्यासल विरुद्धको खेलमा जित दिलाउने क्रममा संकटाका अमित तामाङले खेलको २२ औं र ४९ औं मिनेटमा एलोन म्याक्सवेलले गोल गरे। यस्तै च्यासलको तर्फबाट एक गोल सन्तोष साहुखलले गरे। उनले पेनाल्टी मार्फत गोल गरेका हुन्। सन्तोष साहुखललाई सरोज दाहालले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले च्यासल लाई पेनाल्टी दिएका थिए।

यस्तै शनिबारको दोस्रो खेलमा शिर्ष स्थानको मनाङले अपराजित यात्रा कायमै राखेको छ। हालसम्म खेलेका ५ मध्ये सबै खेल जितेको मनाङ १५ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको छ। मनाङले शनिबार सम्पन्न आफ्नो पाँचौ खेलमा सरस्वती युथ क्लबलाई २–० ले पराजित गरेको हो। हलचोक स्थित एपीएफको मैदानमा भएको खेलमा मनाङलाई जित दिलाउन अन्जन विष्ट र आफिज ओलावाले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५५ औं मिनेटमा अन्जनले गोल गरेका थिए। यस्तै मनाङको अग्रता दोब्बर पार्ने क्रममा ओलावाले ६८ औं मिनेटमा गोल गरे। उनले विमल राना मगरको पासमा गोल गरेका हुन्।

प्रकाशित: १५ मंसिर २०७५ ११:४२ शनिबार

शहिद_स्मारक_ए_डिभिजन_लिग