खेल

‘ए’ डिभिजन लिग : थ्री स्टारको जितमा रन्जन नायक

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पाँचौं चरणको दोस्रो खेलमा पूर्व क्लबविरुद्ध रन्जन विष्टले २ गोल गरेपछि थ्री स्टारले सहज जित हात पारेको हो। खेलको २५ औं मिनेटमा सुनिल बलको पासमा रन्जनले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको थ्री स्टारका लागि ६६ औं मिनेटमा पुनः रन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० अवस्थामा पुर्याए। त्यसपछि निर्धारित र इन्जुरी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थ्री स्टारले महत्वपूर्ण ३ अंक बटुल्यो।

खेलअवधिभर पाएका केही सुन्दर अवसर गोलमा परिणत गर्न नसकेपछि एपिएफ पराजित हुन पुग्यो। खेलमा २ गोल गरेका थ्री स्टारका फरवार्ड रन्जन विष्ट म्यान अफ दि म्याच घोषित भए।

जितसँगै ५ खेलबाट १२ अंक जोडेको थ्री स्टार तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान १२ अंक नै भएको मनाङ मर्स्याङदी पहिलो स्थानमा छ। यद्यपी मनाङले ४ मात्र खेल खेलेको छ। एपिएफले ५ खेलबाट ४ अंक जोड्दै लिगको नवौं स्थानमा छ।

प्रकाशित: १४ मंसिर २०७५ १२:३९ शुक्रबार

ए_डिभिजन_लिग_फुटबल रुस्लान_थ्री_स्टार रन्जन_विष्ट