खेल

इपिएलका लागि ललितपुरद्वारा १८ सदस्यीय टोली घोषणा, सन्दीपले २ खेल मात्र खेल्ने

काठमाडौं – यही मंसिर २२ गतेदिख सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ। क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ।

घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमार छन्। त्यसैगरी टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, सोनु तामाङ कुशल भूर्तेल, शंकर राना, रसिद खान, पवन सार्राफ, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की लगायत छन्।

इपिएलका लागि ललितपुरले खेलाडीका लागि मात्र ३५ देखि ४० लाख खर्च गर्न लागेको जनाएको छ। खेलाडीको सबै सुविधाका लागि उनीहरुले अघिल्लो संस्करणको भन्दा झण्डै तेब्बर रकम खर्च भएको ललितपुर अध्यक्ष किशोर श्रेष्ठले बताए।

सन्दीपले दुईवटा खेल मात्र खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी–१० लिगमा व्यस्त छन्। उनले यही मंसिर २२ देखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन्।

तर अष्ट्रेलियाको बिग ब्यास लिगमा समेत सहभागिता जनाएका उनले इपिएलको शुरुआती दुई खेलमात्र खेल्ने भएका छन्। ललितपुर प्याट्रियट्सका अध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा भने, ‘सन्दीपले मंसिर २२ मा विराटनगर वारियर्स र मंसिर २३ मा चितवन टाइगर्स विरुद्धको खलेमा मात्र सहभागीता जनाउनेछन्।”

यही मंसिर २२ गतेदेखि शुरु भइ पुस ७ गते समापन हुनेछ। आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिका अनुसार प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंस ११, ललितपुर प्याट्रियस, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १३ मंसिर २०७५ ०९:२१ बिहीबार

एभरेष्ट_प्रिमियर_लिग ललितपुर_प्याट्रियस सन्दीप_लामिछाने