खेल

शेर्पाकाे लगातार तेस्राे जित

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। एन्फा कम्प्लेक्स सातदोबाटाेमा बुधबार सम्पन्न चौथो चरणको खेलमा हिमालयन शेर्पा क्लबले मछिन्द्र फुटबल क्लबलाई २–० ले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

चौथो खेलसम्म आइपुग्दा अपराजित रहेको हिमालयनले १० अंक जोड्दै तेस्रो स्थान सुरक्षित गरेको हो। हिमालयनलाई जित दिलाउन आशिष गुरुङले २१औं मिनेटमा गोलको खाता खोलेका थिए। कर्नरबाट आएको बललाई आशिषले हेडमार्फत जाली चुमाए। पहिलो हाफमा १–० को अग्रता पाएको हिमालयनले दोस्रो हाफमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै केही सुनौला अवसर सिर्जना गरेको थियो।

तर हिमालयनको फरवार्ड लाइनले अवसरलाई सदुपयोग गर्न नसक्दा फराकिलो जित निकाल्न असफल रह्यो। अग्रता बढाउनका लागि एक पछि अर्को काउन्टरमा रहेको हिमालयनका लागि कर्णबहादुर सुब्बाले अन्तिम मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

हिमालयनका कर्णले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको एयर बल मच्छिन्द्रका गोलकिपर  दीप कार्कीले सही निर्णय लिन नसक्दा बाउन्स हुँदै गोलमा परिणत भएको थियो। चार खेलमध्ये दुईमा बराबरी र दुईमा पराजय भोगेको मच्छिन्द्र २ अंक बटुल्दै पुछारबाट तालिकाको चौथो स्थानमा छ।

प्रकाशित: १२ मंसिर २०७५ ०८:३९ बुधबार

शहिद_स्मारक हिमालयन_शेर्पा_क्लब मछिन्द्र_क्लब