खेल

रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं – साविक विजेता स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जी’ मा रहेको रियलले मंगलबार राति सम्पन्न खेलमा इटालियन क्लब रोमालाई उसकै मैदानमा २–० ले पराजित गर्दै प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो।

रियलको जितमा ग्यारेथ बेल र लुकास भाज्क्वेले गोल गरे। ४७ औं मिनेटमा ग्यारेथ बेलले रोमाका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेपछि रियलले खेलमा अग्रता लिएको थियो। ५९ औं मिनेटमा करिम बेन्जेमाको पासमा लुकास भाज्क्वेले गोल गर्दै अग्रता दोब्बर पारे।

रियल सन् २००४–००५ मा च्याम्पियन्स लिगको हालको फरम्याट सुरु भएदेखि लगातार नकआउट चरण पुग्ने एकमात्र टोली हो। जितसँगै रियलले ५ खेलबाट १२ अंक जोडेको छ। हारका बाबजुत रोमाले पनि अन्तिम १६ मा स्थान बनायो। रोमाको पनि समान खेलबाट ९ अंक छ।

यही समूहको अर्को खेलमा रसियन क्लब सिएसके मस्को चेक गणतन्त्रको भिक्टोरिया प्लाजेनसँग २–१ ले पराजित भएपछि रोमा अघिल्लो चरण प्रवेश गरेको हो।

प्रकाशित: १२ मंसिर २०७५ ०५:३० बुधबार

रियल_मड्रिड याम्पियन्स_लिग अन्तिम_१६