खेल

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

कोलम्बो – इङ्ल्यान्डले सोमबार घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा ४२ रनको जित निकाल्दै टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ।

इङ्ल्यान्डले पहिलो टेस्टमा २ सय ११ रन र दोस्रो टेस्टमा ५७ रनको जित निकालेको थियो। इङ्ल्यान्डले १७ वर्षपछि श्रीलंकाको घरेलु मैदानमा शृंखला जित्न सफल भयो। इङ्ल्यान्ड श्रीलंकाको घरेलु मैदानमा शृंखलामा क्लिन स्विप गर्ने तेस्रो राष्ट्र बन्यो। यसअघि अस्ट्रेलियाले सन् २००४ र भारतले २०१७ मा श्रीलंकाको घरेलु मैदानमा शृंखलामाथि क्लिन स्विप गरेका थिए।

कोलम्बोको सिन्हालिज स्पोर्ट्स क्लबमा भएको तेस्रो खेलमा ३ सय ३७ रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन २ सय ८४ रनमा समेटिएको थियो। श्रीलंका एक समय २ सय २६ रनमा हुँदा ९ विकेट गुमाउँदै नाजुक स्थितिमा थियो।
तर, दशौँ विकेटका लागि कप्तान सुरंगा लकमल र मालिन्दा पुष्पकुमाराले कुल ७५ बल खेल्दै ५८ रनको साझेदारी गरेका थिए। यद्यपि, इङ्ल्यान्डका स्पिनर ज्याक लिचले कप्तान सुरंगालाई ११ रनमा एलबिडब्लु आउट गर्दै श्रीलंकाको इनिङ समाप्त गरेका थिए। मालिन्दा भने ४२ रनमा नटआउट रहे।

दशौँ नम्बरमा ब्याटिङ गर्न आएका मालिन्दाले ४० बलमा ६ चौका र एक छक्का प्रहार गर्दै आक्रामक प्रदर्शन गरेका थिए। चिया ब्रेकपछि अन्तिम विकेट निकाल्न इङ्ल्यान्डले ३० मिनेट समय लगाएको थियो। इङ्ल्यान्डका स्पिनर हाबी भएपछि श्रीलंकाली ब्याट्सम्यानले लामो समय क्रिजमा टिक्नै सकेनन्।

स्पिनर मोइन अलीले ४ विकेट लिँदा ९२ रन खर्चिए। अर्का स्पिनर लिचले पनि ४ विकेट लिँदा ७२ रन खर्चिएका थिए। श्रीलंकाको एक विकेट बेन स्टोक्सले लिँदा अर्को विकेट रनआउटमा पतन भएको थियो। आइतबार तेस्रो दिनको खेल सकिँदा श्रीलंकाले ४ विकेटको पतनमा ५४ रन मात्र बनाएको थियो।

त्यससँगै सोमबार चौथो दिनको खेल सुरु गर्नुअघि श्रीलंकासँग ६ विकेट हुँदा जितका लागि २ सय ७३ रन आवश्यक थियो । सोमबार श्रीलंकाले थप २८ रन जोड्दा पाँचौँ विकेटका रूपमा लक्षन सन्दकनलाई ७ रनमा गुमाएको थियो। तर, छैटौँ विकेटका लागि कुशल मेन्डिस र रोशेन सिल्भाले १ सय २ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङलाई उकासेका थिए।

तर, छैटौं विकेटका रूपमा कुशल ८६ रनमा रनआउट भएपछि श्रीलंकाको विकेट लगातार गुमेको थियो। त्यसपछि निरोसन डिकवेला १९ रन र दिलरुवान परेरा ५ रनमा आउट भए।

नवौँ विकेटका रूपमा सिल्भालाई ६५ रनमा मोइन अलीले आउट गरेपछि श्रीलंकाको फराकिलो हार अनुमान गरिएको थियो। तर, दशौँ विकेटका लागि पुष्पकुमारा र लक्सनले ५८ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ समालेका थिए।

प्रकाशित: ११ मंसिर २०७५ ०४:१७ मंगलबार

इङ्ल्यान्ड टेस्ट_क्रिकेट क्लिन_स्विप