खेल

थ्री स्टारद्वारा एनअारटी पराजित

एनआरटीविरुद्धको खेलमा बल अगाडि बढाउँदै थ्री स्टारका रञ्जन विष्ट (नीलो) । तस्बिर सौजन्य : एन्फा

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले एनआरटीलाई २–० ले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा फर्किएको छ।

चिर परिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीसँग पहिलो पराजय भोगेको थ्री स्टारले चौथो खेलमा जित हात पारेको हो। पहिलो हाफ गोलरहित बारबरी खेलेको थ्री स्टारका लागि रन्जित धिमालले ७५ औं मिनेटमा गोलको खाता खोले।

थ्री स्टारका अजयी मार्टिन्सलाई एनआरटीका असिस बानले पेनाल्टी बक्सभित्र खराब फाउल गरेपछि प्राप्त पेनाल्टी एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाउ गरे पनि रिबाउन्ड अवसरलाई रन्जितले गोलमा परिणत गरेका थिए।

थ्री स्टारले इन्जुरी समयमा विक्रमको लामो फ्रिकिकमा अजय मार्टिन्सको हेडमार्फत अग्रता दोब्बर पार्यो। चौथो खेलमा तेस्रो जित हात पारेको थ्री स्टार ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। उता पुछारबाट तेस्रो स्थानमा रहेको पराजित एनआरटीको तालिकामा १ अंक मात्र छ।

प्रकाशित: १० मंसिर २०७५ १२:२३ सोमबार

शहिद_स्मारक_ए_डिभिजन_लिग थ्री_स्टार_क्लब एनआरटी