खेल

दक्षिण एसियाली ब्याडमिन्टन मंगलबारदेखि

काठमाडाैं - दोस्राे दक्षिण एसियाली यु – २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मंगलबारदेखि काठमाडाैंमा सुरु हुँदैछ।

ब्याडमिन्टन एसियाको विकास कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी दिए। नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरुको सहभागिता रहने छ। यस्तै अन्य टिमका ३/३ पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने छ।

दक्षिण एसियामा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस च्याम्पियनसिपको पहिलो संस्करण भारतको गुहाटीमा भएको थियो। जसमा नेपालले मिक्स टिम स्पर्धामा रजत पदक हात पारेको थियो भने पुरुष युगलमा कास्य पदक हात पारेको थियो।

हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ कभर्डहलमा मंसिर १६ गते सम्म हुने च्याम्पियनसिपमा पुरुष/महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम ईभेन्ट्स गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने सचिव शाहले जानकारी गराए।

प्रकाशित: १० मंसिर २०७५ १०:५७ सोमबार

ब्याडमिन्टन