खेल

हिमालयन शेर्पाकाे जितमा कर्ण लिम्बु नायक

हिमालयन शेर्पाका कर्ण लिम्बु जावलाखेलविरूद्ध बल अगाडि बढाउँदै । तस्बिर साैजन्य : एन्फा

काठमाडौं – कर्ण लिम्बुको दुई गोल मद्दतमा हिमालयन शेर्पाले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि २–१ को जित निकालेको छ।

हलचोकस्थित एपिएफ क्लबको खेलमैदानमा कर्णले दुवै गोल दोस्रो हाफमा गरेका थिए । जावलाखेलले भने एक गोल उपहार प्राप्त गरेको थियो । हिमालयन शेर्पाका आशिष गुरुङले जावलाखेलका लागि उपहार गोल दिएका थिए।

तेस्रो चरणको खेलसम्म सकिँदा अपराजित रहेको शेर्पा ३ खेलबाट ७ अंक बटुल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । पराजित जावलाखेलले तालिकामा कुनै पनि अंक जोड्न सकेको छैन। 

पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीले गोलका लागि राम्रा केही अवसर सिर्जना गरे पनि गोल हुन भने सकेन । खेलको पहिलो मिनेटमा नै शेर्पाका प्याट्रिकले अग्रता लिने सुन्दर मौका खेर फालेका थिए।

मैदानको मध्यभागबाट आएको पासलाई प्याट्रिकले राम्रोसँग नियन्त्रणमा नलिँदै पेनाल्टी बक्सभित्रैबाट गरेको प्रहार बारनजिकैबाट बाहिरिएको थियो । पहिलो हाफमा लगातार दबाब बनाउँदा शेर्पाका विश्वास श्रेष्ठले १८औं मिनेटमा गरेको फ्रिकिक प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । २६औं मिनेटमा विसन गुरुङले पेनाल्टी क्षेत्रमा पाएको बललाई सदुपयोग गर्न नसक्दा शेर्पा एकपटक फेरि चुकचुकाउन पुग्यो।

४३औं मिनेटमा जावलाखेलका फोफानाको पासमा सुशीलकुमार यादवले मौका पाए पनि शेर्पाका डिफेन्डर आशिष गुरुङले सहजै क्लियर गरी दिएका थिए । ६६औं मिनेटमा पेनाल्टी बक्समा शेर्पाका विश्वासको प्रहारलाई जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा कर्णले सुन्दर गोल गर्दै शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि  विश्वासकै कर्नर पासमा कर्णले गोल गर्दै शेर्पाको अग्रता २–० मा पुर्याए।

गोल फर्काउन संघर्षरत जावलाखेलले ८५औं मिनेटमा सान्त्वना गोल उपहार पायो । शेर्पाका गोलकिपर किशोर गिरी र आशिष गुरुङबीच तालमेल नमिल्दा आत्मघाती गोल भएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा शेर्पाका त्रिदेव गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

लगत्तै जावालाखेलका सुशीलकुमार यादवले दिएको क्रस पासमा फोफानले खाली पोस्टमा गोल गर्न नसक्दा जावलाखेल अंक जोड्नबाट वञ्चित भएको थियो । अपराजित रहँदै अंक बटुलेको हिमालयनका शेर्पाका प्रशिक्षक सुवास लिम्बुले खेलाडीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

‘पहिलो हाफमा केही सुन्दर मौका स्ट्राइकरले खेर फाल्दा हामी केही दबाबमा परेका थियौं,’ प्रशिक्षक लिम्बुले भने, ‘पहिलो हाफको रणनीतिलाई परिवर्तन गर्दै दोस्रो हाफमा मैदान उत्रिएपछि गोल निस्कियो । खेलाडीको मनोबल पनि उच्च बन्यो र स्पष्ट जित निकाल्न सफल भयौं ।’

उता पराजित टोलीका प्रशिक्षक राजकुमार केसीले अभ्यासको जस्तो मनोबलमा खेलाडीले प्रदर्शन गर्न नसकेको बताएका थिए।

‘दुवै टोलीको प्रदर्शन ५०–५० थियो, अभ्यासमा जस्तो खेलाडीले खेलमा प्रदर्शन गर्न सकेनन्,’ प्रशिक्षक केसीले भने, ‘स्ट्राइकरमा समस्या देखियो । कुनै खेलाडीमा उच्च मनोबल देखिएन । गोल भएसँगै दबाबमा परे । आउँदा खेलमा यी कमजोर पक्षलाई हटाउँदै अगाडि बढ्नेछौं।’

प्रकाशित: ९ मंसिर २०७५ ०४:१५ आइतबार

हिमालयन_शेर्पा कर्ण_लिम्बु ए_डिभिजन_लिग