खेल

जितबाट संकटा दोस्रो स्थानमा

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – सिएमजी संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तीन खेल जित्दै दोस्रो स्थानमा उक्लिएको छ।

हलचोकस्थित एपिएफको मैदानमा भएको शुक्रबारको खेलमा संकटाले मच्छिन्द्रलाई २–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग समान ९ अंक जोडे पनि संकटा गोलअन्तरका आधारमा पछि पर्दै दोस्रो स्थानमा अटाएको हो।

लिगमा लगातार तेस्रो जित निकाल्नका लागि नितिन थापाले ६४औं र ८६औं मिनेटमा अमित तामाङले पेनाल्टीबाट गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कँदै मच्छिन्द्रलाई स्तब्ध पारेको हो।

६४औं मिनेटमा नितिन थापाले हेड गोल गरेपछि अग्रता लिएको थियो । संकटाका लक्ष्मणले पाएको बललाई पेनाल्टी बक्सको दायाँ भागबाट दिएको पासलाई नितिनले गोलमा परिणत गरेका थिए । ८६औं मिनेटमा मच्छिन्द्रका गोलकिपर दीप कार्कीले वन भर्सेस वनमा संकटाका विदेशी खेलाडी सेड्रिक आबालाई लडाएपछि प्राप्त पेनाल्टीलाई अमित तामाङले सदुपयोग गर्दै संकटाको अग्रता दोब्बर पारेका थिए। 

यसअघिका दुवै खेलमा जित निकालेको संकटाले तेस्रो खेल जित्दै बलियो टोलीका रूपमा आफूलाई प्रमाणित गर्यो । उता यसअघिका दुुवै खेल बराबरी खेलेको मच्छिन्द्र तेस्रो खेलमा पराजित हुन पुग्यो । खेलमा मच्छिन्द्रले गोलका लागि अवसर सिर्जना गरे पनि बललाई जाली चुमाउन सकेन । जितसँगै संकटाको ९ अंक भएको छ भने २ खेलमा बराबरी खेलेको मच्छिन्द्र तेस्रो खेल गुमाएपछि २ अंकमै सीमित भएको  छ।

प्रकाशित: ८ मंसिर २०७५ ०४:१५ शनिबार

सिएमजी_संकटा_क्लब सहिद_स्मारक_‘ए’_डिभिजन_लिग