खेल

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजकाे पहिलाे जित, एपिएफ स्तब्ध

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिगमा ब्रिगेड ब्वाइजले पहिलो जित दर्ता गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्रिगेडले १० खेलाडीमा सिमित एपिएफलाई ३–१ ले हराउन सफल भयो।

जितसँगै ब्रिगेडले महत्वपूर्ण ३ अंक बटुलेको छ। एपिएफले सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रुपबहादुर लामाको गोलमा एपिएफले सुरुवाती अग्रता बनाएको थियो।

तर ब्रिगेडका मनोज राईले ६३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६९ औं मिनेटमा विदेशी खेलाडी ताजुदीनले गोल गर्दै ब्रिगेडको अग्रता २–१ को अवस्थामा ल्याए। त्यस्तै ७५ औं मिनेटमा अर्का विदेशी खेलाडी काजिमले अर्को गोल थप्दा ब्रिगेडले खेलमा ३–१ को पकट कायम गर्यो। त्यसपछि निर्धारित र इन्जुरी समयमा दुवै टोलीबाट कुनै गोल हुँन नसकेपछि ब्रिगेटले खेलमा बाजी मार्यो।

खेलको अन्तिम ३ मिनेट बाँकी रहँदा विश्वास उदास रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपिएफका १० खेलाडीमा समेटिएको थियो। विश्वास उदासले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटिएको हो । खेलको म्यान अफ दि म्याच ब्रिगेडका मनोज राई घोषित भए।

जितसँगै ब्रिगेड ब्वाइजले ३ खेलपछि ३ अंक जोडेको छ। ब्रिगेड अघिल्ला दुई खेलमा पराजित भएको थियो। यता पराजित एपिएफको भने यो पहिलो हार हो। एपिएफले पहिलो खेलमा बराबरी र दोस्रो खेलमा जित निकालेको थियो।

प्रकाशित: ७ मंसिर २०७५ ०८:३५ शुक्रबार

ब्रिगेड_ब्वाइज राष्ट्रिय_लिग फुटबल