खेल

विक्रमको पुनरागमन सुखद,थ्री स्टार शीर्ष स्थानमा उक्लियो

ब्रिगेड ब्वाइजविरुद्ध गोल गरेपछि थ्री स्टारका कप्तान विक्रम लामा । तस्बिर साैजन्यः एन्फा

काठमाडौं – चोटमुक्त हुँदै ९ महिनापछि मैदान फर्किएका विक्रम लामाले आफ्नो पुनरागमन सुखद पारेको दिन आइतबार रुस्लान थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइज (बिबिसी) माथि ५–१ को रबाफिलो जित हात पारेको हो । गत माघमा सम्पन्न बुढासुब्बा गोल्ड कपमा विक्रमको खुट्टा भाँचिएपछि उनी मैदानबाहिर रहँदै आएका थिए ।

लिगमा लगातार दोस्रो जित निकाल्नका लागि थ्री स्टारले नवौं मिनेटमा पेनाल्टीबाट खाता खोलेको थियो । नीराजन खड्कालाई बिबिसीका रनदीप पौडेलले खराब ट्याकल गरेपछि थ्री स्टारले अग्रता लिने मौका पाएको थियो । थ्री स्टारका रञ्जित धिमालले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । २०औं मिनेटमा बिबिसी पेनाल्टी बक्सभन्दा बाहिर बराबरी गर्ने मौका पाए पनि सदुपयोग गर्न असफल भएको थियो । विदेशी खेलाडी काजिम एड्गोके बुसारीको फ्रिकिक प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरिएको थियो।

३०औं मिनेटमा सुनील बलले पेनाल्टी बक्सअगाडिबाट रक्षकलाई बिट गर्दै दिएको पासमा रञ्जन गोल गर्न चुकेका थिए । त्यसको पाँच मिनेटपछि पनि मार्टिन्सले दिएको क्रस पासमा रञ्जन दोस्रो पटक गोल गर्न चुकेका थिए । ४२औं मिनेटमा थ्री स्टारका बुद्धराज लिम्बुको क्रस पासमा मान्र्टिन्सको हेड प्रहारलाई बिबिसीका गोलकिपर आकाश रानाभाटले उत्कृष्ट बचाउ गर्दै अग्रता लिन अवसरलाई विफल पारेका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको थ्री स्टारले ५१औं मिनेटमा सुनीलको गोलबाट अग्रता २–० मा पुर्याएको थियो । यसअघि दोस्रो हाफको सुरुआतमै बिबिसीका ऋतिक खड्काले पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेको कडा प्रहार थ्री स्टारका एलन न्यौपानेले डाइभ गर्दैै बाहिर फालेका थिए । लगत्तै शिशिर लेखीको कर्नर पासमा ऋतिकले नै हेडमार्फत गरेको गोलको प्रयास बारनजिकैबाट बाहिरिएको थियो।

खेलमा फर्किन निरन्तर प्रयासमा रहेको बिबिसीका राजन तिवारीले ७५औं मिनेटमा गोल गर्दै अग्रता कम बनाएका थिए । त्यसपछि राजन घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । भरपर्दा खेलाडी बाहिरिएसँगै अलमलमा परेको बिबिसीले बाँकी समयमा थप तीन गोल खान पुग्यो । ८४औं मिनेटमा बिबिसीका रक्षक रनदीपको खुट्टाको बल खोस्दै थ्री स्टारका रञ्जनले टोलीका लागि तेस्रो गोल गरेका थिए।

त्यसको पाँच मिनेटपछि नै नीराजन खड्काले थ्री स्टारका लागि चौथो गोल थपे । निरन्तर काउन्टरमा रहेको थ्री स्टारका लागि कप्तान विक्रम लामाले टोलीका पाँचौँ गोल गर्दै फराकिलो नतिजा दिलाए । उनले सुनीलको क्रस पासलाई हेडमार्पmत गोलको दिशा दिएका थिए । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि टोलीमा फर्किएका विक्रमको खेलसँगै समग्र टोलीको प्रदर्शनमा सन्तुष्टि जनाए।

‘समग्रमा टोली राम्रो प्रदर्शन गर्न सफल भयो र नतिजा पनि हाम्रो पक्षमा पर्यो । सँगै लामो समयपछि टोलीमा फर्किएका विक्रमको पनि राम्रो प्रदर्शन रह्यो,’ प्रशिक्षक केसीले भने, ‘लामो समयपछि भएको लिगमा कुनै पनि टोली कमजोर र बलियो भन्ने आकलन गर्न गाह्रो छ । सबै टोली उत्तिकै छन् । हाम्रो टोलीले कमजोर टोली नठानी मिहिनेत गरेर खेल्यो । खेलमा म सन्तुष्ट छु ।’ उता पराजित टोलीका प्रशिक्षका उर्जन श्रेष्ठले तयारी अभावका कारण टोलीमा राम्रो तालमेल नभएको बताए।

‘अनपेक्षित ट्याकलपछिको पेनाल्टीले टोलीको मनोबल घट्यो । दोस्रो हाफमा कमब्याकका लागि प्रयास भए पनि त्यसपछिको समयमा सोचेजस्तो खेल हुन सकेन, भरपर्दा खेलाडी मैदान बाहिरिनुपर्यो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘गर या मरको अवस्थामा रहेका हामीले अंक खोस्ने उद्देश्यले खेले पनि उनीहरूको काउन्टरमा गोल खान पुग्यौं, भरपर्दा खेलाडीको अभावमा खेलमा फर्किन अभाव भयो ।’ लिगमा लगातार दोस्रो जित हात पारेको थ्री स्टार गोलअन्तरका आधारमा मनाङलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित: २ मंसिर २०७५ ११:११ आइतबार

शहिद_स्मारक ए_डिभिजन थ्री_स्टार विक्रम_लामा