खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगः पुलिस र मछिन्द्रकाे बराबरी

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले गोल रहित बराबरी खेलेका छन्। पहिलो खेलमा जावलाखेलमाथि १–० को जित निकालेको पुलिस तीन अंकका लागि मैदान उत्रिए पनि मच्छिन्द्रको पोस्टमा गोल गर्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो।

खेलमा पुलिसका रवि पासवानले गोलका लागि धेरै सुनौला मौका सिर्जना गरे पनि गोल गर्नबाट भने चुकेका थिए । उता विभागीय टोलीविरुद्ध समानान्तर खेल प्रदर्शन गरेको मछिन्द्रबाट पनि अनुभवी फरवार्ड विशाल राईले केही मौका पाए पनि सदुपयोग गर्न असफल भए।

३३औं मिनेटमा पुलिसका रविको क्रस पास अभिषेक रिजालले पेनाल्टी बक्सबाट कडा प्रहार गरे पनि मछिन्द्रका गोलकिपर दीप कार्कीले उत्कृष्ट तरिकाले बचाउँदा पुलिसको चुकचुकाउनु सिवाय कुनै मौका भएन । त्यस्तै इन्जुरी समयमा अनुभवी खेलाडी भोला सिलवालले पेनाल्टी बक्सभित्रको वान भर्सेस वान बललाई सदुपयोग गर्न नसक्दा पुलिसको तीन अंक जोड्ने लक्ष्य अधुरै बनेको हो।

खेलाडीको प्रदर्शनमा सन्तुष्टि जनाए पनि तीन अंक जोड्न असफल पुलिसका प्रशिक्षक अनन्त थापाले फिनिसिङ लाइन कमजोर भएको स्वीकार गरे ।

‘हामी तीन अंकका लागि आएका थियौं, केही मौका पनि सिर्जना भए, तर फिनिसिङ हुन सकेन,’ प्रशिक्षक थापाले भने, ‘युवा टोलीले भरिएको भए पनि मछिन्द्रले राम्रो प्रदर्शन गर्यो ।’ यस्तै, मछिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले पनि टोलीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

‘वैकल्पिक खेलाडीको निर्णय हाम्रा लागि त्यति राम्रो हुन सकेन,’ प्रशिक्षक प्रजापतिले भने, ‘दोस्रो हाफमा टोलीको स्टामिना पुगेन । थकित हुँदा दोस्रो हाफमा राम्रो गर्ने रणनीति असफल बन्यो । अनि नियमित खेलाडी अनिल गुरुङको पनि अभाव खड्कियो । उनी राम्रा खेलाडी थिए।’

पहिलो खेलमा च्यासलसँग गोलरहित बराबरी खेलको मच्छिन्द्रको यो बराबरीसँगै लिगतालिकामा दुई अंक छ भने अर्को टोली पुलिसको ४ अंक छ । लिगअन्तर्गत सोमबार हलचोक र एन्फामा गरी तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा जावालाखेल युथ क्लब र संकटा तथा फ्रेन्ड्स क्लब र विभागीय टोली एपिएफबीच खेल हुनेछन् भने हलचोकको मैदानमा हिमालयन शेर्पा र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २ मंसिर २०७५ ०८:५४ आइतबार

शहिद_स्मारक नेपाल_पुलिस मछिन्द्र_क्लब