खेल

रेलिगेसनबाट बचाउने रिनेरीको प्रतिबद्धता

लन्डन – नवनियुक्त प्रिमियर लिग क्लब फुलह्यामका प्रशिक्षक क्लाउडियो रिनेरीले तालिकाको पुछारमा रहेको क्लबलाई रेलिगेसनबाट बचाउन मिहिनेत गर्ने बताएका छन्।

जारी सिजनको लिगमा इङ्लिस टोली फुलह्यामले १२ खेलबाट ५ अंक मात्र जोड्न सफल भएको छ ।  स्लाभिसा जोकानोभिजलाई फुलह्यामले बर्खास्त गर्दै लेस्टर सिटीका लागि २०१६ मा प्रिमियर लिगको उपाधि दिलाएका ६७ वर्षीय इटालीका रिनेरीलाई बुधबार नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको हो । जारी सिजनमा खराब सुरुआत गरेको फुलह्यामलाई सम्हालेका रिनेरीले  क्लबको खेललाई क्रमिक सुधार गर्दै रेलिगेसनबाट बचाउन प्रयास गर्ने जनाएका हुन्।

‘रक्षापंक्तिलाई मजबुत बनाउँदै इटालियन क्लबलाई सम्हालेको मेरो अनुभव मैले फुलह्यामको खेलमा पनि लागू गर्नेछु । विशेष गरी रक्षापंक्तिलाई मजबुत बनाउने प्रयास गर्नेछु,’ चेल्सी तथा रोमाका पूर्वप्रशिक्षक समेत रहेका रिनेरीले भने, ‘बलियो रक्षापंक्ति बनाउनु नै हाम्रो पहिलो प्राथमिकता हुनेछ । समग्रमा टोलीको संरचना नै बनाउनु आवश्यक छ।’

यसअघि लेस्टर सिटीलाई २०१६ मा प्रिमियर लिगको उपाधि दिलाउँदा रिनेरीको रक्षापंक्तिको रणनीति बलियो हतियार थियो । इटालियन क्लबको जस्तै संरचना बनाउँदै लन्डन क्लबलाई पनि बलियो बनाउने योजनामा नवनियुक्त रिनेरी रहेका छन्।

‘मेरो विचारमा टोलीको आपसी तालमेल सबैभन्दा महत्वपूर्ण पाटो हो, यो टोलीमा खेलाडीबीच राम्रो तालमेल र बुझाई छ भन्नेमा म विश्वस्त छु,’ रिनेरीले थपे, ‘खेलमा हारजित स्वाभाविक हो । समर्थकले हामीलाई साथसँगै हौसला दिनेमा म विश्वस्त छु । म र मेरो टोलीले राम्रो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि दिलाउन चाहन्छु।’

फुलह्याम अन्तर्राष्ट्रिय बिदापछि नोभेम्बर २४ मा तालिकाको पुछारबाट चौथो स्थानमा रहेको साउथह्याम्पटनसँग रिनेरीको प्रशिक्षणबाट मैदान उत्रिनेछ । १२ खेलबाट ८ अंक जोडेको साउथह्याम्पटनले १ खेलमा जित निकाल्दा ५ मा बराबरी गर्दै ६ खेलमा नतिजा सुम्पिएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०३:४२ आइतबार

नवनियुक्त_प्रशिक्षक फुलह्याम क्लाउडियो_रिनेरी रेलिगेसन