खेल

रत्नजित, नवीन र रुकेश सेमिफाइनलमा

बिपक्षीविरुद्ध सट प्रहार गर्दै आर्मीका रुकेश महर्जन । तस्बिर सौजन्यः राखेप

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, नवीन श्रेष्ठ र रुकेश महर्जन राजधानीमा जारी योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा आर्मीका रत्नजितले पुलिसका नीरविक्रम देवकोटालाई २१–१७, २१–१८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । फाइनल प्रवेशका लागि अब रत्नजितले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्नेछन्।

बिहीबारै सम्पन्न अर्को खेलमा रुकेशले अर्को विभागीय टोली नेपाल पुलिसका विष्णु कटुवाललाई २१–१६, २१–१९ को सोझो सेटमा पराजित गर्दै रत्नजितसँगको भेट पक्का गरेका थिए । बिहीबारै आर्मीका नवीन श्रेष्ठले भोजपुरका विकास श्रेष्ठमाथि २१–१९, २१–११ को जित हात पार्दै सेमिफाइलन यात्रा तय गर्न सफल भए । नवीनले फाइनल प्रवेशका लागि एपिएफका दीपेश धामीको सामना गर्नेछन् । उता दीपेशले सिल्क ग्रुपका प्रिन्स दाहालमाथि २१–१६, २२–२० को जित हात पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए।

बिहीबारै सम्पन्न महिला एकलतर्फको खेलमा आर्मीका दुई र एपिएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । बिहीबार सम्पन्न क्वार्टरफाइनलमा आर्मीका नङ्सलदेवी तामाङले बाँकेकी सम्झना शर्मालाई २१–१२, २१–८ ले पराजित गरिन् । फाइनल प्रवेशका लागि नङ्सलले एपिएफकी शोभा गौचनको सामना गर्नेछिन् । क्वार्टरफाइनलमा शोभाले आर्मीकी अनुमाया राईलाई २१–१७, २१–१९ को सेटमा पराजित गर्दै नङ्सलसँगको भेट पक्का गरेकी हुन्।

बिहीबारै आर्मीकी रसिला महर्जनले आर्मीकै रञ्जना भट्टराईलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् । अब फाइनल प्रवेशका लागि रसिलाले अघिल्लो संस्करणकी विजेता एपिएफकी जेसिका गुरुङसँग प्रतिस्पर्धा गर्नेछिन् । जेसिकाले क्वार्टरफाइनलमा आर्मीकी अमिता गिरीमाथि १९–२१, २१–१५, २१–११ को रोमाञ्चक जित हात पार्दै अन्तिम चारको यात्रा गरेकी थिइन्।

यस्तै, यु–१७ ब्वाइजतर्फको खेलमा सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९को सोझो सेटमा पराजित गर्दै सेमिफाइलनमा स्थान सुरक्षित गरे ।  अन्तिम चारमा स्थान बनाउने क्रममा जेष्ट ब्याडमिन्टनका प्रियान्सुसिंह क्षेत्रीले दाङका हिमांशु कुँवरलाई २१–११, २१–१८ ले, आर्मीका दिवस शंकरले कैलालीका अमृत चौधरीलाई १९–२१, २१–११, २१–१३ ले तथा जेष्टका पेम्बा शेर्पाले कञ्चनपुरका हिमाल चन्दलाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे।

प्रकाशित: ३० कार्तिक २०७५ ०४:४० शुक्रबार

ब्याडमिन्टन पुरुष_एकल त्रिभुवन_आर्मी