खेल

भेट्रान च्याम्पियनसिपमा उपाधि लक्ष्य

काठमाडौं – बिहीबारबाट मंसिर २ गतेसम्म भारतको गुवाहाटीमा हुने पाँचौं अन्तर्राष्ट्रिय भेट्रान च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ।

मंगलबार सिएमजी क्लबको बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन्।

‘हामीले अभ्यासको क्रममा नेपाली यु–१६ र महिला टोलीसँग अभ्यास खेल खेलेका थियौं । जसले गर्दा हामीलाई प्रतियोगितामा सहभागिताका लागि उच्च मनोबल रहेको छ,’ कप्तान सिंहले भने, ‘अघिल्लो संस्करण सेमिफाइनलसम्मको थियो । यसपालि हामी उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं।’

भारतको युनाइटेड ब्रदर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई मंगलबार सिएमजी क्लबका प्रबन्ध निर्देशक नरेन्द्र शाह र राष्ट्रिय पूर्वखेलाडी एवं सहिद स्मारक लिग आयोजक समितिका संयोजक विज्ञानराज शर्माले बिदाइ गरेका हुन्।

प्रतियोगितामा नेपालको सिएमजी क्लबसँगै भुटान र बंगलादेशको भेट्रान टोली, भारतको नयाँ दिल्ली र मणिपुरको भेट्रान टोलीसहित ८ टोलीले सहभागिता जनाउँदै छन्।

प्रतियोगिताको विजेताले ५० हजार  र उपविजेताले ३० हजार भारतीय रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले विभिन्न उपहार पाउनेछन्।

नेपालको प्रतिनिधित्व गर्ने अन्य खेलाडीमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन, राजेश मानन्धर, राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ, नवीन पाण्डे, दिनेश व्यञ्जनकार, चेतनारायण श्रेष्ठ, शुक्र तामाङ, रविनमान व्यञ्जनकार, विजय श्रेष्ठ, अष्टकुमार कबे, सुविन शाक्य, कर्माछिरिङ गुरुङ, आकाश गुरुङ, उज्ज्वल श्रेष्ठ, छन्नुराम चौधरी, सरोजकुमार थापा, नरोत्तम गौतम र सञ्जित सिंह छन् भने विजय शाहीले टोलीको व्यवस्थापन गर्नेछन्।

लिग कम नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगितका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । खेल २०÷२० मिनेटको हुनेछ । टोली बुधबार भारत प्रस्थान गर्नेछ।

प्रकाशित: २८ कार्तिक २०७५ ००:१६ बुधबार

भेट्रान_च्याम्पियनसिप फुटबल गुवाहाटी