खेल

सोलारीलाई नै रियालको स्थायी जिम्मेवारी

मड्रिड – अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीले नै सोमबार रियाल मड्रिडको स्थायी प्रशिक्षकको जिम्मेवारी पाएका छन् । स्पेनिस फुटबल फेडेरेसनको नियमानुसार दुई साताभन्दा बढी अन्तरिम प्रशिक्षकको जिम्मेवारीमा बस्न नपाउने भएपछि रियालले सोलारीलाई स्थायी जिम्मेवारी दिन लागेको हो।

रियालले सोलारीलाई प्रशिक्षकमा नियुक्त गर्न आवश्यक कागजात स्पेनिस फुटबल फेडेरेसनमा पठाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युरोपियन च्याम्पियन रियालले यस सिजन खराब प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

त्यसअघि सोलारीले रियालकै दोस्रो टिम कास्टिला समालिरहेका थिए । ‘सबै प्रक्रिया नियमसम्मत नै भएका छन् । रियालले सोलारीसँग सम्झौता गर्न सक्दछ । कुनै समस्या छैन, ’ स्पेनिस फुटबल फेडेरेसनले जनाएको छ । सोलारीले आफूले जिम्मेवारी समालेको चार खेलमै रियाललाई शतप्रतिशत जित दिलाएका छन्।

अन्तरिम प्रशिक्षकको रूपमा सोलारीले प्रशिक्षण समालिरहँदा रियालले १५ गोल गर्दा २ गोल मात्र बेहोरेको छ । सोलारीको साथमा रियालले कोपा डेल रेमा मेलिलालाई ४–०, ला–लिगामा भालाडोलिडलाई २–०, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लेजेनलाई ५–० र ला–लिगामै सेल्टा भिगोलाई ४–२ ले पराजित गरेको थियो।

‘विश्वस्तरीय क्लबमा जिम्मेवारी पाउनु मेरो लागि यो ठूलो अवसर हो । मैले जुन क्लबको जर्सी लगाएर खेलें, त्यसको प्रशिक्षकको जिम्मेवारी पाउनु मेरा लागि अवसर नै हो । तर, मैले थप मिहिनेत गरेर देखाउनुपर्दछ।’

जुन नतिजा रियालमा सोलारीको पूर्ण जिम्मेवारी पाउने माध्यमसमेत बन्यो । पछिल्लो समयमा सोलारीले टोलीलाई लयमा फर्काउँदा लिगमा रियालले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी चारमा छोट्याउन सफल भएको छ । प्लेजनसँगको सफलताले पनि युरोपा लिगमा रियाल अन्तिम सोह्रनजिक पुगेको छ।

रियालबाट पाँच वर्षसम्म खेलाडीको रूपमा खेलेका सोलारी कास्टिला समालिरहेका थिए । तर, सात खेलमा १ मात्र जित निकालेपछि क्लबले लोप्तेगीलाई बर्खास्त गर्दै सोलारीलाई जिम्मेवारी दिएको थियो । रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्नो कार्यकालको १५औँ सिजनमा १३औँ प्रशिक्षकका रूपमा सोलारीलाई नियुक्त गरेका छन् । ‘उनले (सोलारी) हाल राम्रो गरिरहेका छन्,’ रियालका निर्देशक इमिलिओ बुट्रागुइनोले भने,‘हामी यो नतिजाले निकै खुसी छौँ।’

यसअघि मेलिलाविरुद्धको पहिलो जितलगत्तै सोलारीले आफूलाई लामो जिम्मेवारी दिइने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि उनले आफूलाई प्रमाणित गरे । उनको विश्वास पनि सही साबित भयो । यद्यपि, रियालमा उनले थप राम्रो नतिजा निकाल्न सके प्रशिक्षकका रूपमा उनले आफ्नो करिअरमा ठूलो फड्को मार्नेछन्।

‘विश्वस्तरीय क्लबमा जिम्मेवारी पाउनु मेरो लागि यो ठूलो अवसर हो,’ सोलारीले भने, ‘मैले जुन क्लबको जर्सी लगाएर खेलें, त्यसको प्रशिक्षकको जिम्मेवारी पाउनु मेरा लागि अवसर नै हो । तर, मैले थप मिहिनेत गरेर देखाउनुपर्दछ ।’ यसअघि जिनेदिन जिदानले पनि कास्टिला समालिरहेको अवस्थामा सन् २०१६ मा रियालको जिम्मेवारी पाएका थिए।

सफल खेलाडीको रूपमा परिचित जिदानले प्रशिक्षकका रूपमा पनि रियाललाई सफलता दिलाए । जिदानको प्रशिक्षणमा रियालले लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । जुन अवसर सोलारीलाई पनि छ । केही समयको अन्तर्राष्ट्रिय खेलपछि रियालले लिगमा राम्रो लयमा रहेका एइबर, भ्यालेन्सिया, रायो भालेकानो र भिल्लारियालविरुद्ध खेल्नेछ।

च्याम्पियन्स लिगमा पनि रियालले इटालीको रोमा र रसियाको सिएसकेए मस्कोविरुद्ध समूह ‘जी’ को विजेता बन्न खेल्नेछ ।  यस सिजन सोलारीले राम्रो नतिजा दिलाउन सके रियालले अर्को सिजन उनलाई दोहो¥याउनेछ । सोलारीले पनि पहिलो क्लबबाट प्रशिक्षण करियरको उडान भर्नेछन् । यद्यपि, सोलारीले राम्रो नतिजा दिलाउन नसके एन्टोनियो कोन्टे, माउरिसियो पोचेटिनो, जोजे माउरिन्हो र जोचिम लोउमध्य एकलाई रियालले आगामी सिजन रियालको जिम्मेवारी दिन सक्नेछ।

प्रकाशित: २७ कार्तिक २०७५ २३:५८ मंगलबार

सान्टियागो_सोलारी रियाल_मड्रिड स्थायी_प्रशिक्षक