खेल

पोखरामा राष्ट्रिय पुरुष भलिबल हुने

काठमाडौं – नेपाल भलिबल संघको आयोजनामा यही पुस १ देखि ७ गतेसम्म पोखरामा राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता हुने भएको छ।

आइतबार भलिबल संघले पत्रकार सम्मेलन गरेर पहिलो पटक काठमाडौंबाहिर प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो। प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। यसअघि गत वर्षको फागुनमा भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएका १२ टिममध्ये शीर्ष ८ मा पर्न सफल टिमले लिगमा भाग लिनेछन्। संघले यो प्रतियोगिता गत जेठमा नै गर्ने बताए पनि सो बेला एसियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो।

संघको वार्षिक कार्यक्रममध्ये क्लब लिगलाई पहिलो पटक काठमाडौंबाहिर गर्न लागेको हो्र। प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ। प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन्। यस्तै चौथो हुनेले २५ हजार रुपैयाँ हात पार्नेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीले ५/५ हजार रुपैयाँ नगद हात पार्नेछन्। प्रतियोगिता सम्पन्न गर्न कुल २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा नयाँ बजार सामाजिक युथ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब (बुटवल), जावालाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ।

प्रकाशित: २६ कार्तिक २०७५ ०३:५० सोमबार

नेपाल_भलिबल_संघ