खेल

उदयपुरमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र

धरान - साहसिक खेल पर्यटनअन्तर्गत प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण केन्द्र प्रदेश नं १ मा पनि सञ्चालनमा आएको छ।

उदयपुरको बेलाका नगरपालिका ८ स्थित बोप्ताङमा प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र सञ्चालनमा आएको हो । नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसन(नेफा), बेलका नगरपालिका र धरानस्थित बुढासुब्बा प्याराग्लाइडिङ प्रालिको सहकार्यमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएको हो । तिहारको लक्ष्मीपूजाको दिनदेखि  केन्द्र सुरु भएको हो। बेलकाका प्रमुख दुर्गाबहादुर थापाले बोप्ताङ डाँडामा प्रशिक्षण केन्द्रको उद्घाटन गरेका थिए। यो प्याराग्लाइडिङ केन्द्र नेपालको तेस्रो हो, भने प्रदेश नं १ को पहिलो हो । यसअघि, बाबु एडभेन्चरले स्याङ्जाको शिरकोटमा र पोखराको ब्लु स्काईले तनहुँको बन्दीपुरमा मात्र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका थिए । शिरकोट र बन्दीपुरमा निजी कम्पनीले प्रशिक्षण केन्द्र सञ्चालन गरेको हो भने राखेपअन्तर्गतको नेफाले सञ्चालन गरेको यो पहिलो प्रशिक्षण केन्द्र (स्कुल) हो।

पोखरापछि प्याराग्लाइडिङको व्यावसायिक उडान प्रदेश १ को धरानमा भइरहेको छ । धरानको वडा ४ स्थित छोटीमोरङ डाँडा र धरान २० स्थित चिन्डे डाँडाबाट दुईवटा कम्पनीले व्यावसायिक उडानको अनुमति पाएका छन् । करिब २ वर्षअघि आयोजित एक्युरेसी च्याम्पियनसिपको बेला नै नेफाले धरानमा प्याराग्लाइडिङ स्कुल खोल्ने घोषणा गरेको थियो । तर, धरानमा भन्दा अघि नै बेलका नगरमा स्कुल सुरुआत भएको हो । आफ्नो नगरलाई पर्यटकीय केन्द्र बनाउने लक्ष्यअनुसार नेफासँग सहकार्य गरेर स्कुल सञ्चालनमा ल्याएको मेयर थापाले बताए । ‘यसलाई पर्यटन उद्योगका रूपमा लिएको छु, स्कुल खुलेपछि देशविदेशबाट सिक्न आउँछन् । उद्योग चलेपछि कर प्राप्त हुन्छ । नयाँनयाँ मान्छे आउँदा ज्ञानको आदानप्रदान हुन्छ,’ मेयर थापाले थपे,‘एउटा पर्यटन उद्योगले सहायक प्रभाव पनि पर्छ, आर्थिक गतिविधि बढ्छ र रोजगारीको सिर्जना पनि हुन्छ।’

बेलकाले प्याराग्लाइडिङ स्कुलका लागि बोप्ताङ डाँडामा टेकअफको लागि ठाउँ उपलब्ध गराएको छ भने सप्तकोशी किनारस्थित सिसौली चौरमा २५ बिघा जमिन पनि स्थानीय वन समूहसँग पहल गरेर ल्यान्डिङका लागि उपलब्ध गराएको छ । बेलका नगर र नेफाको सहकार्यमा सञ्चालनमा आएको स्कुललाई धरानको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले प्राविधिक रूपमा सहयोग तथा व्यवस्थापन गरिरहेको छ । स्कुलमा हाल सोलो पाइटलका लागि ६ जनालाई प्रशिक्षण दिइरहेको बुढासुब्बा प्रालिका अध्यक्ष लेखमणि जिमीले जानकारी दिए । उनका अनुसार बेसिक कोर्स गर्न हाल पोखराबाट ३, पाल्पाबाट १ , धरानबाट १  र बेलका नगरबाट १ जना प्रशिक्षार्थी छन् । दोस्रो चरणमा बेलका नगरका थप ८ जना युवालाई पनि प्रशिक्षण दिइने उनले बताए । पहिलो चरणमा नेफाका प्रशिक्षक सुरेन गुरुङ र बेलायती पिट ग्यालेगरले प्रशिक्षण दिइरहेका छन् । ‘बिगिनर्सको लागि यो एकदमै राम्रो ठाउँ हो, ल्यान्डिङ फराकिलो भएकाले पनि धेरै उचित ठाउँ छ,’ उनले भने।

सस्तो कोर्स
प्याराग्लाइडिङको आधारभुत कोर्स कम्तीमा १२ दिनको हुन्छ । यो कोर्स नेपालकै स्याङ्जा र बन्दीपुरमा गर्दा कम्तीमा अढाई लाख खर्च हुन्छ । तर, यहाँ राखेपअन्र्तगतको संस्थाले सञ्चालन गरेकाले अन्यत्रभन्दा सस्तोमा सिकन सकिन्छ । ‘यहाँ नेफाले स्कुल चलाएको हुनाले पनि सस्तो छ, जहींबाट पनि सिक्न आउँदा हुन्छ,’ नेफा प्रशिक्षक गुरुङले भने।

बुढासुब्बा प्रालिका अध्यक्ष जिमीका अनुसार यो कोर्स गर्न अन्यत्र अढाई लाख रुपैयाँ खर्च लाग्छ । तर, यहाँ होस्टलसहित डेढ लाखमा कोर्स गराइने उनले बताए । यो कोर्स गरेपछि २ वर्षभित्र आवश्यक मापदण्ड पूरा गरेर टेन्डम पाइलट हुन सकिने उनी बताउँछन् । ‘टेन्डम पाइलट बनेपछि राम्रो आम्दानी हुन्छ, स्पोर्ट्सका रूपमा पनि करियर अघि बढाउन सकिन्छ,’ जिमीको भनाइ छ । उडान प्रशिक्षण गर्नुअघि प्रशिक्षार्थीलाई ३ दिन ग्राउन्ड ह्यान्डलिङको प्रशिक्षण गराएको प्रालिले जनाएको छ । त्यसपछि, चिकेन फ्लाइट (सर्ट फ्लाइट) को पनि प्रशिक्षण दिएको जिमीले बता ।

एक जनालाई ५० हजार अनुदान
प्याराग्लाइडिङको पाइलट उत्पादन गर्ने लक्ष्य राखेर बेलका नगरपालिकाले पाइलट सिक्न चाहने आफ्नो नगरका युवालाई लगानीसमेत गरिदिएको छ । भविष्यमा रोजगारी सिर्जना हुने र पर्यटनमार्फत समृद्धि आउने अपेक्षा गरेर पाइलट सिक्न चाहने नगरका युवाहरूलाई प्रतिव्यक्ति ५० हजार लगानी गरिएको मेयर थापाको भनाइ छ । उनले भने, ‘८ जना युवाले पाइलट तालिम लिँदै छन्, उनीहरूलाई हामीले ५० हजार अनुदान दिन्छाैं। भविष्यमा आफ्नो ठाउँमा पर्यटकलाई उडाऊन् भन्ने हाम्रो चाहना हो।’

प्रकाशित: २५ कार्तिक २०७५ ०४:५३ आइतबार

प्याराग्लाइडिङ