खेल

पोखरा प्रिमियर लिग सेमिफाइनलः काठमाडौं ९४ रनमा अलआउट

तस्बिरः उमेश पुन/नागरिक

पोखरा– पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९.३ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधक ३० रनको योगदान दिए। ३५ बल खेलेका मल्लले २ चौंका प्रहार गरे।

त्यस्तै जयकिशन कोल्सवालाले ३७ बलमा २ चौंकाको मद्दतमा २५ रन बनाएपनि अन्यको प्रदर्शन राम्रो हुन सकेन्। काठमाडौंका ८ खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन्।

काठमाडौं रोयल्सलाई सस्तैमा समेटन चितवन राइनोजका सन्नी पटेलले ३, सुमित पटेल र भुवन कार्कीले २–२ तथा करण केसी र कप्तान पारस खड्काले १–१ विकेट लिए। 

यस खेलको विजेताले उपाधिका लागि आयोजक पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। पोखरा तालिकाको शीर्ष स्थानमा रही समान ६ अंक जोडेका काठमाडौं र चितवनलाई नेट रनरेटले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो। तीन जित र दुई हारसँगै पोखराको ६ अंकसहित नेट रनरेट ०.७८८ छ।

पोखरा, चितवन र काठमाडौंले लिगका पाँच खेलमा समान ३ जित र २ हारसँगै ६ अंक बटुले । ६ अंकै जोडेको एक्सपर्ट धनगढी ब्लुज भने नेट रनरेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ। शुक्रबारको खेलमा पोखरालाई पराजित गर्दै उत्साहित देखिएको धनगढीलाई शनिबारको नजिताले निराश बनाइदिएको थियो।

प्रकाशित: १८ कार्तिक २०७५ ०६:५६ आइतबार

पोखरा_प्रिमियर_लिग सेमिफाइनल