खेल

ला लिगाः ६ खेलमा रियल मड्रिडको पहिलो जित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रायो भालाडोलिडलाई २–० ले पराजित गरेको छ। अघिल्लो हप्ता एल क्लासिकोमा बार्सिलोनासँग घरेलु मैदानमा ४–० ले पराजित भएपछि प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेपछिको ला लिगाको पहिलो खेलमा रियलले जित निकालेको हो।

लुपेटेगुईको बर्खास्तीपछि अहिले टोलीलाई ‘बी’ टोलीका प्रशिक्षक सान्टियागो सोलारीले सम्हालिरहेका छन्। योसँगै पछिल्ला ६ खेलमा रियलले पहिलो जित दर्ता गरेको छ। शनिबार राति सम्पन्न खेलमा पहिलो हाफमा दुवै टोलीले बराबरी खेलेपनि ८३ औं मिनेटमा भिनिसियस जुनीयर र ८८ औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।

जितपछि रियल ११ खेलबाट १७ अंक जोड्दै तालिकाको छैटौ स्थानमा उक्लिएको छ। भालाडोलिड १६ अंक सहित आठौ स्थानमा छ। सोलारीले प्रशिक्षकको जिम्मा पाएको पहिलो खेलमा यसै हप्ता कोपा डेल रेमा रियलले तेस्रो डिभिजनको क्लबविरुद्ध सहज जित निकालेको थियो।

प्रकाशित: १८ कार्तिक २०७५ ०६:३१ आइतबार

ला_लिगा फुटबल रियल_मड्रिड