खेल

साफ यु–१५ च्याम्पियनसिपः तेस्रो स्थानका लागि नेपाल र भारत भिड्दै

काठमाडौं – साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि शनिबार (आज) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।  खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा बिहान १०ः३० मा सुरु हुनेछ।

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बंगलादेशसँग ट्राइबेकरमा पराजित भएको थियो। प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो।

माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो। पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भुटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो।

प्रतियोगिताको फाइनलमा आजै पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्।  फाइनल खेल अपरान्ह २ः३० मा सुरु हुनेछ।

प्रकाशित: १७ कार्तिक २०७५ ०४:२८ शनिबार

साफ_यु–१५_फुटबल तेस्रो_स्थान नेपाल_भारत